काठमाडौँ, १५ जेठ : गणतन्त्र दिवसका अवसरमा आजबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु हुँदै छ । प्रदर्शनीमा यो पटक ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।
जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहने प्रतिष्ठानले जानकारी दिएको छ ।
जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश गरिने छन् । प्रदर्शनीको तयारी पूरा भएको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।
फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृति यसपाली राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइएको छ । प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनी राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी—२०८० गरी त्यहाँबाट छानिएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेटिएको र दुई चरणको छनोटले उत्कृष्ट कृतिहरु समावेश भएका बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताउनुभयो । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उहाँको भनाइ थियो ।
यस्तो छ सम्मान र पुरस्कार
यसपालिको अरनिको ललितकला राष्ट्रिय प्रज्ञासम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र अग्रज कलाकार श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार)लाई प्रदान गर्ने भएको छ । उक्त सम्मान तथा पुरस्कारको राशि जनही रु १ लाख ५० हजार रहेको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने र उक्त पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ। प्रतिष्ठानले यसपटक ६६ वटा पुरस्कार प्रदान गर्न लागेको छ । यसपटक प्रदेशगत रुपमा कलाकारले हरेक विधाबाट पुरस्कार पाउने छन्।
प्रदर्शनीमा रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ ।
ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्रका पत्रकार सुकृत नेपाल र द राइजिङ नेपालकी रेनुका ढकाललाई प्रदान गरिने भएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिने छ ।
यसवर्ष थपिएको विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ । यी पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसपटक ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्न लागिएको पहिलो अभ्यास हो ।