काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपालिको अरनिको ललितकला राष्ट्रिय प्रज्ञासम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र अग्रज कलाकार श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार)लाई प्रदान गर्ने भएको छ ।
आज नक्सालस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यही जेठ १५ गतेदेखि सुरु हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का अवसरमा उहाँहरुलाई उक्त सम्मान प्रदान गरिने जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनी संयोजक लालकाजी लामाले यही जेठ १५ गते उहाँहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । उक्त सम्मानको राशि जनही रु १ लाख ५० हजार रहेको छ ।
उहाँले यसपालीको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने र उक्त पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको जानकारी गराउनुभयो । उहाँले जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो । प्रतिष्ठानले यसपटक ६६ वटा पुरस्कार प्रदान गर्न लागेको छ । यसपटक प्रदेशगत रुपमा हरेक विधाबाट पुरस्कार प्रदान गरिने भएको छ ।
प्रदर्शनीमा रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ ।
ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्रका पत्रकार सुकृत नेपाल र द राइजिङ नेपालकी रेनुका ढकाललाई प्रदान गरिने भएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिने छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट सामना राई (भावभङ्गिमा कला), मधेसबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट सोनी राई, मधेसबाट स्मिता श्रीवास्तव, बाग्मतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोसीबाट टीकाराम पौडेल (शशी किरण), बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा पुरस्कार प्रदान गरिने छ ।
परम्परागत चित्रकला विधातर्फ कोसीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ (मनोज) लामा, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकलातर्फ कोसीबाट कमलेश लिम्बु (डिएगो) बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा राई, मधेसबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोसीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कट्वाल, लुम्बिनीबाट सिकेन्दर चौधरीलाई दिइने छ ।
वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्रकुमार श्रेष्ठ, फोटोग्राफीमा कोसीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण विक, सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ । यी पुरस्कारको राशी ५०/५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसपटक ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्न लागिएको पहिलो अभ्यास हो । आज आइतबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसको विस्तृत जानकारी दिएको हो ।
प्रदर्शनीमा ५२२ कलाकृति समावेश
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिने छ । जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहने छन् । जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् ।
फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ भएको थियो । त्यही प्रदर्शनीमा समावेश भएका सिर्जनाबाट छनोट भएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा राखिने छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनी राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी—२०८० गरी त्यहाँबाट छानिएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेटिएको बताउनुभयो । उहाँले यो प्रदर्शनीले अलिक फरक र समावेशीतवरमा जनसाधारणदेखि सामाजिक, राजनीतिक नेतृत्व वर्गसमेतमा विशेष चासो गर्न सफल भएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताउनुभयो । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उहाँको भनाइ थियो । यसपटकको प्रदर्शनीको प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
संयोजकसँज जेठ १२ गते लिइएको भिडियो अन्तरवार्ता