काठमाडौँ : काठमाडौँमा आज गरिएको विशेष जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने ५२ जना चालकलाई कारबाही गरिएको छ ।
उनीहरुले हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५२ सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था जाँच गर्ने अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उनीहरुलाई सवारी साधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ। नियमितरुपमा आफ्नो सवारी साधनको अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्न प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई अनुरोध पनि गरेको छ ।
लापसे गर्ने चालक पनि
यस्तै आजै लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका ४ जना चालकहरुलाई पनि ट्राफिक प्रहरीले उपत्यकाबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बा ४ ख ९३ ९६ नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका २ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका ६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्वर बस्ने ३५ वर्षीय जीवन गिरी रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, ड्रग किटमा राखेर जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उक्त अभियानमा खटिएको थियो ।
उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे÷नगरेको जाँच गर्दै आएको छ । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुलाई तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले अनुरोध गरिएको छ ।