काठमाडौँ । मानव सेवाप्रति समर्पित मकवानपुरको हेटौँडा र आसपासका क्षेत्रमा बिहीवारदेखि ‘हेटौँडा कला महोत्सव’ सुरु भएको छ । अहिले हेटौँडा कलामय भएको छ।
शनिवारीय स्थलगत कला कार्यशाला अभियानको आयोजनामा यही ५ गतेसम्म हुने कला महोत्सवले हेटौँडालाई कला गतिविधिमा अब्बल बनाउँदै कला नगरीकारुपमा स्थापित गर्ने आशा गरिएको छ ।
महोत्सवको बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्नुभयो । उहाँले महोत्सवले हेटौँडाको कला संस्कृति संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । सो क्रममा वरिष्ठ कलाकार हरिभजन मान सिंह प्रधान सम्मान प्रदान गरिएको थियो भने कलासम्बाद तथा प्रत्यक्ष चित्रकला कर्याशाला पनि भएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, संरक्षण र सम्बद्धनका लागि यस्ता महोत्सवहरु ह्ुन जरुरी रहेको र यसले हेटौँडाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताउनुभयो ।
महोत्सव अन्तरगत आज हेटौँडाको भुटनदेवी मन्दिरमा खुला चित्रकला कार्यशालासहितका कार्यक्रम रहेको छ । विहानैदेखि कलाकारहरु भुटनदेवी पुगेर कार्यशालामा सहभागी भएका छन् ।
आजै ४ बजेपछि पुष्पलाल पार्क सानो पोखरामा पनि कला कार्यशाला गरिने महोत्सव संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो ।
महोत्सव अन्तरगत भोलि शनिवार मनकामना डाँडा, पाथीभर हेटौँडा भ्यूटावर, गुम्बाडाँडा हर्नामाडी, मकवानपुर गढी लगायतको भ्रमण रहेको र २ बजेपछि शहिद स्मारकमा कला कार्यशाला, कला संवाद र समापन कार्यक्रम हुने छ । जेठ ६ गते भने मानवसेवा आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । यसले हेटौँडाबासीमा कलाप्रेम जगाई रेथाने ललितकलाको ज्ञानलाई अभिलेखिकरण गरी जीवन्त राख्ने विश्वास गरिएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक रहेको महोत्सवमा हेटौँडा उपमहानगरपालिका सहआयोजकमा रहेको छ । महोत्सवमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननको समेत सहकार्य रहेको छ ।
उक्त महोत्सवमा काठमाडौँबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहेको कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रादेशिक राजधानी भएर पनि हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी नै नभएको अबस्थामा कार्यक्रमले नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।
त्यस क्षेत्रमा कला र संस्कृतिप्रतिको जागरण ल्याउन महोत्सव गर्न लागिएको हो। महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ ।
