काठमाडौँ । संसद अवरोध कायम भइरहँदा र कांग्रेसले संसद चल्न नदिने अडानका बीच सरकारले भोलि मंगलबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।
भोलि दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।
सघीय संसद् सचिवालयले आज जारी गरेको सम्भावित कार्यसूची अनुसार भोलि दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको छ।
नीति तथा कार्यक्रमका लागि राष्ट्रपति पौडेलले ३ घण्टासम्म संसद्मा समय दिनेछन्। त्यसपछि साँझ ६ बजे बस्ने दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम छ।
उक्त बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
सम्भावित कार्यसूची सार्वजनिक भए पनि दलहरुबीच अवरुद्ध सदन खुलाउने विषयमा भने सहमति जुट्न सकेको छैन। गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर सदनमा अवरोध गरिरहेको छ।
सदन खुलाउन आज सभामुख देवराज घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री लामिछानेलाई टेलिफोनमार्फत संवाद गरे पनि सकारात्मक खबर भने आइसकेको छैन।
गृहमन्त्री लामिछानेले भने आफूले एक पटक संसद्मा बोल्न पाउनुपर्ने माग गरिरहेका छन्। आरोप लगाउने कांग्रेसलाई प्रमाण पेश गर्न खुल्ला चुनौती दिएका उनले एक पटक हातखुट्टा खोलिदिन भनेका छन्।
कांग्रेसले भने संसदीय छानबिन समित बनाउनुपर्ने मागका विषयमा सम्झौता गर्न नसक्ने स्पष्ट पारेको छ। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमालेतर्फ लक्षित गर्दै प्रधानमन्त्री स्वयम् छानबिन समित बनाउन सकारात्मक हुँदा अरुलाई किन टाउको दुख्यो भन्दै प्रश्न गरेका छन्।