काठमाडौँ । शिक्षामा सीप जोडेपछि के हुन्छ भन्ने प्रमाण आज काठमाडौँमा देखिएको छ । काठमाडौँका विभिन्न सरकारी विद्यालयले बनाएका कला सिर्जनाको आजदेखि नक्सालमा प्रदर्शनी थालिएको छ ।
विद्यार्थीहरुले शिक्षामा सीप थपेपछि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलका भित्ता मात्रै भरिएन अवलोकनकर्ताले हल नै भरिभराउ भयो ।
काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको ‘स्केचिङ एन्ड स्कप्चर’ तालिमबाट विद्यार्थीले बनाएका कलाकृतिको आजबाट प्रदर्शनी थालिएको हो ।

प्रतिष्ठानको कार्यालय नक्सालमा आज प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षा र सीप, कला र सिर्जनाबीच अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो ।
उहाँले महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीहरूले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरुमा गाह्रो देखिएता पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताउनुभयो । “कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसाथ गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको बताउनुभयो ।
वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्राज्य मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीहरूले सिर्जना गरेका कलाकृति राखिएको छ।