काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज बुधबार नेपालका लागि बङ्गलादेशी राजदूत र बंगलादेशी कलाकारसँग ‘कला संवाद’ आयोजना गरिएको छ ।
‘फ्रम माउन्टेन टु द डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बंगलादेशी कलाकारसँगै नेपालका लागि बङ्गलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीको सहभागितामा कला र संसकृति आदानप्रदान गर्ने उद्देश्यले संवाद आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो।
उक्त अन्तरक्रिया कार्यक्रममा राजदुत चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध उच्चस्तरको रहेको बताउनुभयो । उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशका कला अद्वितीय रहेको विचार व्यक्त गर्दै दुई देशबीच भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्दै आएको बताउनुभयो।
कार्यक्रममा बङ्गलादेशका अग्रज कलाकारहरुको समेत सहभागिता रहेको थियो । सो क्रममा उहाँहरुले नेपाल भ्रमणको अनुभव, बङ्गलादेशको कला, नेपालसँगको सम्बन्धसँगै कलाका अन्य विविध आयामका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका अग्रज कलाकार शशीविक्रम शाहले नेपाल र बंगलादेशका कलाकारको प्रदर्शनी र छलफलले दुई देशको कलालाई नजिकबाट नियाल्न मद्दत मिलेको बताउनुभयो। उहाँले बंगलादेशसँगको आफ्नो कलायात्राका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला संस्कृतिको आदानप्रदानले सम्बन्धलाई समेत प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो ।
सो क्रममा प्रतिष्ठानका उपकुलति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, अरुणा हिङ्माङ, सौरगंगा दर्शनधारीलगायतको सहभागिता थियो ।