काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आगलागीबाट जोगिन सर्वसाधारणमा १२ बुँदे अपिल सार्वजनिक गरेको छ । सुख्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको उल्लेख गर्दै प्रहरीले उक्त अपिल सार्वजनिक गर्दै सचेत गराएको हो ।
चैत, वैशाख र जेष्ठ महिनामा सुख्खा मौसम हुने, हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा विगतका वर्षहरुमा धेरै जनधनको क्षति हुने गरेको पनि स्मरण गराइएको छ ।
नागरिकलाई सावधानी अपनाउनका लागि सार्वजनिक अपिल गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो ।
उपत्यका प्रहरीले आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याससिलिन्डर र चुल्हो बालबालिकाबाट टाढै राख्न, होसियारीपूर्वक प्रयोग गर्न तथा काम सकिएपछि सुरक्षितस्थानमा राख्न पनि अनुरोध गरेको छ ।
प्रहरीले विधुतजन्य सामाग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसिआदिलाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगर्न, घरमा आगो निभाउने उपकरण राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाउन, पूजा कोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।
यस्तै आगालागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घखेर निस्कन, ग्यास सिलिण्डरमा आगोलागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न र ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए नभएको यकिन गरेर मात्र प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
गाईवस्तु चरणको निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने कार्य नगर्न, वनमा पिकनिक गर्दा बालेको आगो र गाईबाख्रा चराउन जाँदा चुरोटका ठुटाहरु पूर्णरुपमा निभाउन पनि प्रहरीले सचेत गराएको छ ।
प्रहरीले आगालागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले आगालागी भएमा आफूलाई जोगाई अरुलाई जोगाउन भनेको छ ।
त्यस्ता विपदजन्य घटना हुन नदिन र भई हालेमा पनि कमभन्दा कम क्षतिमा नियन्त्रणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै एआइजी थापाले उक्त कार्यमा जनस्तरबाटै उच्चस्तरको सहयोगको अपेक्षा पनि राखेको बताउनुभयो ।
