काठमाडौँ, बैशाख १३ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व सांसद एवं काँग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छुट्टे भएका छन् । सर्वोच्च अदालले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी छु्टने भएका हुन् । तर अर्का मुख्य कसुरवार मानिएका पूर्व गृहसचिव टेक नारायण पाण्डे भने थुनामै रहने भएका छन् ।
न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार शेर्पालाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै ३० लाख धरौटीमा छोड्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।
सोही प्रकरणमा पक्राउ परेका शमशेर मियाँलाई पनि १० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएको छ। निवेदक प्रतिवादी विक्रम भन्ने गोविन्दकुमार चौधरीको हकमा मुद्दा पूर्पक्षको लागि थुनामा नै राख्नुपर्ने सम्मको अवस्था नदेखिएकोले उनलाई मुद्दा पूर्पक्षको क्रममा थुनामा राख्ने गरी उच्च अदालत पाटनको आदेश बदर गर्दै १० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
त्यस्तै स्रचना अधिकारी घिमिरेका अनुसार सरकारले प्रतिवादी टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा उनीहरु उपर ठगीको कसुरबाट उठान भएको विभिन्न कसुरमा सजाय गरी पाउँ भन्ने अभियोग पत्र माग दाबी रहेकोमा प्रतिवादी उपर किटानी जाहेरी रहेको तथा एक अर्कालाई पोल गरी गरेको बयान व्यहोरा, पीडितको घटना विवरण कागज समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा छाड्न नमिल्ने निर्णय भएको छ ।
उनीहरुलाई मुद्दा पूर्पक्षको लागि मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखे गरी उच्च अदालत पाटनको आदेशलाई सदर गरेको घिमिरेले बताए ।