काठमाडौँ : गोरखा भूकम्पका सम्झनामा आज काठमाडौँमा बृहत फोटो प्रदर्शनी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त प्रदर्शनीको उद्घाटन गरे । उनले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन्।
खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह संवाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी आयोजना गरेको हो । सो क्रममा मन्त्री भण्डारीले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएका हुन्।
‘भूकम्पले पुर्याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारका तर्फबाट मैले पहल गर्छु’, उनले भने। उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले विसं २०७२ को भूकम्पको स्मरण गराउन फोटो प्रदर्शन गरेर राम्रो कामको सुरुवात भएको बताए।
उनले नेपाल भूकम्पको अत्यन्त जोखिमयुक्त मुलुक भएकाले यहाँ बन्ने भौतिक संरचना निर्माणमा भूकम्पीय जोखिम कम हुने खालको बनाउनुपर्ने उल्लेख गरे। सचिव राउतले विसं २०७२ को भूकम्पले मानवीय, भौतिक र आर्थिक क्षति पुगेको स्मरण गरे।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भूकम्पका बारेमा आम जनतालाई जानकारी दिने उदेश्यले विभागले विभिन्न तहका पाठ्यक्रम निर्माण गरिरहेको उल्लेख गरे। उनले भूकम्पबाट हुने क्षति कम गर्न खानी विभागले ‘भवन आचारसंहिता’ निर्माण गरे पनि कतिपय स्थानीय तहले उक्त आचारसंहिता लागू नगर्दा समस्या भएको बताए।

विभागका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले यसबाट जोखिमका लागि पक्की संरचना निर्माण गर्नुपर्ने बताए। संवाहिका समाज नेपालकी अध्यक्ष एवं गोरखापत्रकी पत्रकार चाँदनी हमालले विसं २०७२ को भूकम्पको स्मरणका लागि फोटो प्रदर्शनी गरिएको बताइन्।
उनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमले निरन्तर आवाज उठाउँदै आएको र त्यसको बलियो उदाहरण आजको फोटो प्रदर्शनी भएको उल्लेख गरिन्। विसं २०७२ वैशाख १२ गते बिहान ११स्५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए।

उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए। पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५६ जनाले ज्यान गुमाएका थिए। उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पुर्याएको थियो।
प्रदर्शनीको विभिन्न विद्यालयबाट सयौँ शिक्षक तथा विद्यार्थीले अवलोकन गरेका थिए । प्रदर्शनीमा २०७२ र पछिल्लो समयमा गएको जाजरकोट भूकम्पका तस्वीरहरु राखिएको थियो ।

