काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले स्थापनाको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा, स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमको आज उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमा मन्त्री तामाङले वार्षिकोत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धिहरु, सम्पन्न गर्न बाँकी रहेका कामहरुको बारेमा समीक्षा गर्नुपर्ने बताउनुभयो। उहाँले प्रज्ञा प्रतिष्ठानका लागि मन्त्रालयबाट आगामी आर्थिक वर्षमा सम्बोधन गरिनुपर्ने विषयमा आफू र मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रि प्रज्ञा पुरस्कार–२०८०’का लागि छनोट भएका स्रष्टा तथा सर्जकहरुको नामावली सार्वजनिक गर्नुभयो ।
पुरस्कारको नामावली सार्वजनिक गर्दै कुलपति शर्माले प्रज्ञा–प्रतिष्ठान स्रष्टा तथा सर्जकहरुको संस्था भएकाले उहाँहरुको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य कृष्ण अधिकारी, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका कार्यवहाक अध्यक्ष भिम कुमाखी मल्ललगायतले वार्षिकोत्सवका अवसरमा आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानको अवसर र चुनौतीका बारेमा चर्चा गर्दै प्रज्ञा प्रतिष्ठानसँग विविध कार्यक्रम आयोजना गर्नका लागि सुविधा सम्पन्न प्रेक्षालयको अभाव रहेको बताउनुभयो ।
पुरस्कारका लागि छनौट हुनुभएका स्रष्टाहरु रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मीतथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दन कुमार श्रेष्ठ, सङ्गीत विधातर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र के.सी., नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की रहनुभएको छ ।
वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रुपमा योगदान पु¥याएका संस्था तथा स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए भने व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, के.पी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी संगीता प्रधान, वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रुपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीलगायत प्रशंसापत्रसहित सम्मानित हुनुभयो।
प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराद्वारा सहजीकरण गरिएको कार्यक्रममानेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १४वर्षे यात्राकोे भिडियो प्रस्तुत गरिएको थियो ।