काठमाडौँ : नेपाली समाजमा नाटक तथा चलचित्रमा खेल्ने कलाकारहरुका लागि भने ‘रेन्टल फेसन’ नौलो होइन । पश्चिमा विश्व बजारमा अत्यधिक चलेको ‘रेन्टल फेसन’को चलन नेपालमा त्यति छैन् ।
रेन्टल अर्थात भाडाको कपडा भन्नासाथ अझै पनि आम नागरिकले नाक खुम्च्याउन पछि पर्दैनन् । त्यही सोच बदल्न तम्सिएकी छिन् चितवनकी सन्ध्या कँडेल । पेसाले उनी डेन्टिस्ट हुन् । त्यस हिसाबले उनले डेन्टल क्लिनिक खोल्नुपर्ने हो तर आफ्नो पेसाभन्दा नितान्त फरक उनले रेन्टल फेसनको पहिचानलाई विस्तार गर्न थालिन् ।
कोभिड–१९ महामारीको खालीपन र खाली मनलाई पुर्न उनले साइड बिजनेस गर्ने सोच राखेकी थिइन् तर जब उनले भरतपुरमा सञ्चालनमा ल्याएको ‘आवर क्लोसेट’ कम्पनीको रेन्टल कपडाको माग बढ्न थाल्यो । तब भाडाको कपडाप्रतिको मानिसको सोच पनि बदलिन थालेको छ ।
उनको रेन्टल सोचले हुने खाने तथा हुँदा खाने दुवै थरीका मानिसको आवश्यकता र खुशीलाई समेटन थालेको छ । बेबी सावरका लागि गाउन किन्न आएकी रमिला लामाले भनिन्, “धनी मानिसहरुले लगाउने त्यस्तो मंहगो डिजाइनर कपडा किनेर फोटो खिचाउने हाम्रो क्षमता नै छैन, तर भाडामा पाएपछि ठूलो खुशी पाएजस्तै भयो ।”
उनको रेन्टल सोचले हुने खाने तथा हुँदा खाने दुवै थरीका मानिसको आवश्यकता र खुशीलाई समेट्न थालेको छ । पहिले ‘छ्या ’भन्नेहरु अचेल ‘वाह्’ भन्न थालेका छन् ।
उनले भनेजस्तै धनी गरीबको दूरी मेटन् रेन्टल फेसनले सघाउन थालेको छ । पहिले ‘छ्या’ भन्नेहरु अचेल ‘वाह्’ भन्न थालेका छन् । रेन्टल फेसनको अवधारणामा उनले समाजको संस्कृति र संस्कारलाई दुरुस्त राख्न मद्दत गरिरहेकी छिन् ।
घर,परिवार र समाजमा हुने अनेक प्रकारका उत्सव, महोत्सवमा सरिक हुन परम्परा र संस्कार अनुसारका कपडा र अन्य सामग्रीहरु आवश्यक पर्छ । ती सामग्री पूरा मूल्यमा खरिद गर्नुपर्ने हुन्छ । त्यसले चाड पर्व, विवाह, ब्रतवन्धलगायतका अन्य मानवीय उत्सवलाई महँगो बनाइरहेको छ । हरेक परिवारको क्षमता सबै सामग्री किनेरै खुशी मनाउने हुँदैन ।

कतिपयले त्यस्ता सामग्री बारम्बार खरिद गरेर घरभित्र त्यतिकै थुप्रो पारिरहेका हुन्छन् । त्यही अवस्थालाई चिर्ने प्रयत्न उनले गरेको बताउँछिन् । उनले समाजमा हुने मानवीय उत्सवहरुका लागि आवश्यक लत्ता कपडा, गरगहना तथा भाँडाकुँडा आदि सबै भाडामा दिन्छिन् ।
उनी भन्छिन्, “देशकै अवस्था हेर्दा र बुझ्दा दिगो आर्थिक व्यवस्थापन र दिगो उपयोगलाई हेर्नुपर्ने बेला आएको छ । सबै कुरा किनिराख्नु पर्दैन । जुन भाडामा लिएर चलाउँदा घरकै बचत हुन्छ ।”
उनको आवर क्लोसेटमा महिला, पुरुष तथा साना बालबालिकाको लागि आवश्यक कपडा तथा अन्य सामग्री पाइन्छ । पछिल्लो समय समाजमा मौलाइरहेको गर्भवती अवस्थाको उत्सव अर्थात बेबी सावरको चलन बढेको छ ।
आफ्नो सन्तान प्राप्तीको खुशी मनाउन सबैको आर्थिक गच्छे पुग्दैन । तर उनीकहाँ भाडामा पाइन थालेपछि अति कम कमाइ हुनेले पनि त्यो खुशी साट्न पाएका छन् । त्यस्ता कपडा लैजादा आवश्यक सजावटका सामान्य सामग्री उपहार दिने गरेकी छिन् ।

साना नानीबाबुको भात खुवाइको लत्ता कपडासँगै चाँदीका भाँडाकुँडाहरु जुन एक पटकका लागि मात्र प्रयोग हुन्छ । र महंगो पनि हुन्छ । साना कचौरा, थाल, चम्चा देखि बच्चा नुहाउने ताउलोसम्मका सामग्री उनकोमा भाडामा पाइन्छ । विवाहको लागि हो भने मेहंदी, संगितका लागि फरक फरक कपडाहरु भाडामै पाइन्छ । दुलाहालाई ओढाउने छाता, जुत्ता लुकाउनका लागि पिर्का लगायतका सामग्री पनि एक पटक प्रयोग हुने हुन् ।
अचेलका मानवीय तथा सामाजिक उत्सवहरु फोटो तथा भिडियोमा राम्रो देखियोस भनेर बढी गरिन्छन् । मानिसको त्यही सोचलाई उनले भाडाको रुप दिएको सुनाइन् । त्यस्तोमा भाडाको सामान खरिद गर्दा नै राम्रो हुन्छ । विवाहको पार्टीमा लगाइने महँगा खालका २५ हजारसम्मका सारी पनि उनी ४५ सयमै भाडामा दिन्छिन् ।
आफैँले किन्दा महँगो परेपछि
रेन्टल कपडाको त्यो सोच उनलाई आफ्नै विवाहको बेला महसुस भएको थियो । चार वर्ष अघि विवाह हुन लाग्दा प्रिवेडिङका क्रममा भिजिट नेपाल २०२० को प्रवद्र्धन गर्ने उदेश्यसहित महत्वपूर्ण स्थानमा फोटो तथा भिडियो खिचौँ भन्ने उनको मनमा आयो ।
धेरै स्थानका लागि धेरै खालका पहिरन चाहियो । त्यसका लागि काठमाडौँमा चलिरहेको एउटा वुटिकमा भाडामा कपडा लिन पुगिन् । तर उनीहरुले दिने कपडाको भाडा निकै महंगो थियो । उनले सम्झिइन, “एउटा कपडा भाडामा लिएको दश हजार रुपियाँ भन्यो, मेरो त्यत्रो बजेट थिएन ।” चार पाँचवटा स्थानका लागि फोटो खिचाउन त्यो निकै महँगो पर्योे ।
कोराना महामारीका कारण घरमै बस्नुपर्ने बेलामा धेरै सोचहरु आउने जाने भइरह्यो । डेन्टल पेसाबाट कमाएको पैसा कहाँ कसरी लगानी गरौँ भन्दा थोरै रकममा भाडा लिएर कपडा दिने कुरालाई यथार्थमा बदल्ने काम म आफैँ गर्छु भनेर सुरु गरेको उनले बताइन् ।
उनले सुनाइन्, “सुरुवातमा केही ग्राहकका लागिमात्र काम गरियो, पछि राम्रो फिडब्याक आएपछि भने बिजनेसकै रुपमा स्थापना गरे ।” सुरुमा आफूसँग भएको करिब दुई लाख रुपियाँबाट गर्भवति महिलाको फोटो खिच्नका लागि कपडा बनाइन् ।

केही आफूसँग भएको लेहेंगा गाउन, अरु साथीहरुको कपडा र केही नयाँ कपडाका साथ बनाइएका थिए । त्यसलाई अनलाइनमार्फत प्रवद्र्धन गर्न खोज्दा भने केही समस्या आयो । त्यसैले धेरै स्थानमा स्टोरका रुपमा ग्राहक आफैँ पुगेर हेरेर, छानेर लिन पाओस् भनेर व्यवस्था गरिएको छ ।
आवर क्लोसेटको माग बढ्दै जाँदा चितवन, काठमाडौँ, पोखरा र हेटौँडामा शाखा विस्तार भएको छ । शाखासँगै उनको रेन्टल सोचको सकारात्मकताले पनि उचाइ लिदै छ । यो व्यवसायबाट उनले आफुमात्र रोजगार भएकी छैनन् ।
महिला उद्यमशिलतालाई ध्यानमा राख्दै धेरै महिला कर्मचारी राखिएका छन् । जसमा २५ जनामध्ये २३ जना महिला छन् । उनलाई अघिल्लो वर्ष नयाँ खालको उद्यम गरेबापत एक लाख रुपियाँको प्रोत्साहन पुरस्कार पनि चितवन उद्योग बाणिज्य संघले चितवन महोत्सवका बेला पुरस्कृत गरेको थियो ।
उच्चदेखि निम्न घरानाका सबै ग्राहक
सुरुमा यो अवधारणा ग्राहकलाई बुझाउनै कठिन भयो । आफैँमा पनि आत्मविश्वास कम थियो । उनी थप्छिन्, “कपडा हराउने हो कि, साह्रो विग्रेर फर्किने हो कि भन्ने आशंका थियो, तर त्यस्तो केही भएन ।”
चाहिरहेको कुरा तर कसैको आँखा नगएको कुरा रहेछ भन्ने बल्ल बुझिन् । उनले आफ्ना ग्राहकले यसरी गर्नुभयो भने अझ राम्रो हुन्छ भन्ने अनुभवजन्य सुझावलाई निकै मनन् गर्छिन् ।
नयाँ कपडा सिलाएपछि त्यसलाई करिब ६ पटकसम्म भाडामा लगाउँछिन् ।
च्यातिए वा भत्किएमा अकै नयाँ डिजाइन दिएर फेरि भाडामा लगाउँछिन् । उनको ग्राहक उच्च घरानादेखि, चिकित्सक, नर्स, बैंकर तथा मध्यमवर्गीय परिवार पनि छन् । उनीहरुको आवश्यकता बुझेर आर्थिक क्षमता अनुसारको सामानहरु उपलब्ध गराउँछिन् ।
रेन्टल अर्थात भाडाको कपडा भन्नासाथ अझै पनि आम नागरिकले नाक खुम्च्याउन पछि पर्दैनन् । त्यही सोच बदल्न तम्सिएकी छिन् चितवनकी सन्ध्या कँडेल । पेसाले उनी डेन्टिस्ट हुन् । त्यस हिसाबले उनले डेन्टल क्लिनिक खोल्नुपर्ने हो तर आफ्नो पेसाभन्दा नितान्त फरक उनले रेन्टल फेसनको पहिचानलाई विस्तार गर्न थालिन् ।
विस्तारै रेन्टल फेसनको सोच मानिसले बुझ्दै गएकोमा उनी खुशी व्यक्त गर्छिन् । राम्रो र डिजाइनर कपडा तथा सामानहरुका साथ पारिवारिक खुशीमा रमाउन पाएकामा उनका गा्रहकहरु पनि दंग छन् ।
भविष्यमा नेपालकै ठूलो रेन्टल कम्पनी बन्ने अपेक्षा उनको छ । त्यसका लागि प्रत्यक्षसँगै डिजिटल प्लेटफर्मका रुपमा आफ्नै एप्स बनाएर वा अन्यसँग साझेदारी गरेर नेपालका कुनै पनि ठाउँमा भाडाको कपडा पुर्याउने सोचमा छिन् ।
भिडियाे यहाँ