काठमाडौँ : नक्कली भूटानी शरणार्थी प्रकरणमा भिआइपी आरोपीले अनुकुल न्यायाधीश छान्न खोज्दा पटकपटक स्थगित हुँदै आएको सर्वाेच्चको सुनुवाइ रोकिँदै आएको थियो । उक्त प्रकरणमा बल्ल आज एक हप्तापछि सर्वोच्च अदालतमा सुनुवाई थालिएको छ ।
सर्वोच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा आजदेखि सुनुवाई सुरु भएको हो। गत आइतबारदेखि निरन्तर पेशी तोकिँदै आए पनि सुनुवाई स्थगित हुँदै आएको थियो । एक वकीलले सहज न्यायाधीश खोजेकाले यसरी पटकपटक स्थगित गरिएको बताए। यो हरेक मुद्दाहरुमा हुने गरेको बताइन्छ । तर औपचारिक रुपमा भने काम विशेष भएर रोकिएका बताउने गरेका छन्।
एक सातापछि बल्ल शुरु भएको सुनुवाई नसकिएपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सुनुवाई अझै दुई तीनदिन लम्बिन सक्ने सर्वोच्चका प्रवक्ता वेदप्रसाद उपे्रतीले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ थान निवेदन सर्वोच्चमा छन्। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेपछि पुर्पक्षका लागि थुनामै रहेका अभियुक्तहरुले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा बेरितको निवेदन दायर गरेका थिए।
उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा पूर्वसांसद आङटावा शेर्पा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ। त्यस्तै सानु भण्डारी, शमशेर मियाँ, गोविन्दकुमार चौधरी र सागर राई सर्वोच्च पुगेका छन्।