काठमाडौँ : बंगलादेशीहरु भिसा सकिएर नेपालमा लुक्ने क्रम बढेको छ । प्रहरीका अनुसार उनीहरुका गतिविधि समेत शंकास्पद फेला परेका छन् ।
युरोप पठाउने भनेर नेपालमा ल्याई बन्धक बनाउनेदेखि भिसा सकिएर बस्ने गतिविधि बढेपछि प्रहरीले निगरानी बढाएको छ । नेपालमा भिसा सकिएर अवैधरुपमा बसिरहेका १० जना बंगलादेशी नागरिकलाई प्रहरीले हालै मात्र पक्राउ गरेको छ ।
विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुको साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बंंगलादेशी नागरिक पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले विशेष टोलीले काठमाडाँैको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दिन र मोहम्मद एसिन खान रहेका छन् ।
एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताउनुभयो ।
यसअघि पनि यसैगरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले ५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो ।