काठमाडौँ । डा. मनुमाया भट्टराई गोरखामा जन्मनुभयो । पछि चितवन र हाल काठमाडौँमा बसोबास गर्नुहुन्छ।
झण्डै डेढ दशक कोरिया बसेर उहाँले सीप मात्रै सिक्नुभएन केही ज्ञान पनि प्राप्त गर्नुभयो। महत्वपूर्ण कुरा त उहाँले हालसालै मात्रै अपांगता पुनस्थापनको विषयमा विद्यावारिधि (पिएचडी) सक्नुभएको छ ।
विदेशमा ज्ञान, सीप आर्जन गर्नेहरु कोही विदेशमा उच्च स्थानमा काम गरिरहेका छन्, कोही नेपाल चाहेर पनि फर्केर आउन नसकिरहेको अवस्थामा डा भट्टराई भने यही परिस्थितिमा नेपालमा केही गर्न सकिन्छ वा नेपाललाई केही योगदान दिन सकिन्छ की भन्ने सोचका साथ स्वदेश फर्कनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “अब मेरो सोच वा सपना चाहिँ नेपालमा पुनस्थापन केन्द्र खोल्ने, डिसेबलहरुका लागि भोकेसनल ट्रेनिङ सेन्टर स्थापना गरेर योगदान दिने हो । जहाँ उहाँहरुलाई आफैँले कमाएको हो भनेर परिश्रम गर्न सक्ने बनाउने सोच छ । आफ्नो योग्यताको आधारमा काम गरेर आफैँले जीविकोपार्जन गर्नसक्ने गरी एउटा भोकेसनल सेन्टर खोल्न सकियो भने राज्यलाई पनि सहयोग भयो र आफैँलाई पनि सन्तुष्टि भयो ।”
डा भट्टराई सन् २००९ बाट नियमित रुपमा कोरिया गएर पढ्न थाल्नुभएको हो । सन् २०२४ मा (हालसालै) उहाँले विद्यावारिधि सक्नुभयो । सन् २००९ अघि कोरियामा पर्यटन भिसामा घुम्नका लागि जानु भएको थियो । त्यसपछि उहाँलाई कोरियाले तान्यो र त्यहाँ काम गर्दै र पढ्दै गर्नुभयो । अन्तत डाक्टरका रुपमा अपांगता पुनस्थापनको क्षेत्रमा विज्ञ बनेर निस्कनुभयो ।

शुरुमा उहाँको लगाव नेपालमै थियो । पढ्दै जाँदा र देशको स्थिति, राजनीतिक अवस्था सामाजिक क्षेत्र हेर्दा र युवा पुस्ताको उमेर चढ्दै गर्दा कोरियाको पारिश्रमिकले उहाँलाई लोभ्यायो तर उहाँलाई विदेश बसिरहने सोच कहिल्यै पलाएन ।
पिएचडी गरेपछि झन् नेपाल फर्कने हुटहुटी भयो । नेपालमा केही गर्नुपर्छ, आफ्नो देश भनेको देश नै हो । केही सानो भए पनि राष्ट्रका लागि योगादन गर्नुपर्छ भनेर अहिले फर्कनुभएको छ ।
उहाँले अपांगताको क्षेत्रमा काम गर्ने सोच बनाउनुभएको छ । त्यसैमा डाक्टर पनि बन्नुभयो
त्यो सोच त्यसै आएको होइन । उहाँले ‘सुमन’सँग भन्ने एउटा टेलिभिजन कार्यक्रम सुन्नुभएको थियो । उहाँका अनुसार प्रस्तोताकी छोरी डिसेaल हुनुहुँदो रहेछ । नेपालमा पढ्ने वातावरण नभएका कारण क्यानडा पठाउन लागेको छु भनेर भन्नुभएको थियो । त्यसपछि उहाँमा नयाँ सोच आयो ।
डा भट्टराई भन्नुहुन्छ, “उहाँले सक्नुभयो क्यानडा पठाउनुहोला । नसक्नेले के गर्ने त ? त्यसैले नेपालमा पुनस्थापन केन्द्र स्थापना गरेर भोकेसनल ट्रेनिङ सेन्टर वा स्कुल सञ्चालन गरेर उनीहरुले आफ्नो जीविका आफैँ चलाउन सके भने देशका लागि पनि केही योगदान भयो नी त ?”
उहाँको मुख्य विषय पुनस्थापना हो । लागूऔषत दुर्बेसन, मदिरा खाएका व्यक्तिहरुको पुनस्थापन पनि पढुनभयो तर मुख्य गरी उहाँले अपांगता भएका व्यक्तिहरुको पुनस्थापनमा विद्यावारिधि गर्नुभएको हो ।

उहाँ एक महिना अघि नेपाल फर्कनुभएको छ । अहिले उहाँ परामर्शको फेजमै हुनुहुन्छ । अल्पकालिन भन्दा पनि दीर्घकालिन रुपमा केही काम गर्नुपर्छ भन्ने सोच पलाएको छ ।
उहाँलाई अहिले पनि विभिन्न क्षेत्रमा सल्लाहकारका लागि भनेर कोरियनले बोलाइरहेका छन् तर अब नेपालमै केही पूर्णकालिन सेवा गर्नुपर्छ भनेर फर्कनुभएको छ।
सुरुमा भाषा पढ्न जानुभएको हो । उहाँले ब्याचलर अन्तरराष्ट्रिय सम्बन्धमा गर्नुभयो । त्यसपछि नेपाल फर्कनुभयो । नेपालमै डिग्री गर्छु भन्ने सोच थियो तर विभिन्न ठाउँमा जाँदा समस्याहरु आइपर्यो । आफूले भनेको कुरा अरुलाई बुझाउन नसकेको जस्तो भयो । राजनीतिक, आर्थिक समस्याहरु नेपालमा देखियो । त्यसपछि मास्टर पनि विदेशमा पढौँ भन्ने सोच भयो र मास्टर्स, पिएचडी कोरियामा गर्नुभयो ।
उहाँले लामो समय सरकारी सर्टिफिकेट लिएर कोरियन भाषा ट्रान्सलेसन गर्नुभयो । शुरुमा रेष्टुरेन्ट, कम्पनीहरुमा काम गरेको अनुभव पनि छ । पछि मात्रै प्रोफेसनल सेक्टरमा काम गर्नुभएको हो ।
उहाँका अनुसार कोरियामा आम्दानीका दृष्टिकोणले राम्रो छ । भाषा, संस्कृतिमा समस्याहरु छन् । कुनै एडिकमा नफसेका मान्छेले पाँच वर्ष काम गरेर आउनुहुन्छ । फेरि जानुहुन्छ। कमाउनुहुन्छ ।
काम चाहिँ कडा छ । परिवारसँग टाढा भएपछि काम गर्दैगर्दा डिप्रेसन, दुर्घटनामा परेको छ । प्रविधि, मेसिनहरु सबै कोरियन भाषामा हुन्छ । नजान्दा समस्या आइपर्छ । त्यसकारण पनि कोरिया सरकराले विभिन्न सेवामुलक क्षेत्रमा ट्रान्सलेसन राख्न थालेको छ ।
कोरियाको अनुभव शेयर गर्दै डा भट्टराईले भन्नुभयो, “कोरियाको व्यस्त लाइफ छ, अरुको बारेमा सोच्ने फुर्सद नै हुन्न । काममा जाने/आउने । जनसंख्या पनि कम । कोरियामा बच्चा जन्मिएपछि सेवा सुविधा धेरै छ । कोरियनहरु एकदम देश प्रेम छन् । अंग्रेजी जाने पनि आफ्नै भाषा बोल्छन् ।”
त्यही बीचबाट उहाँले पिएचडी सक्नुभएको हो । स्पेशल अपांगताको पुनस्थापनाको विषयमा विद्यावारिधि गर्नुभएको हो । अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भरता गर्न र कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर उहाँले अध्ययन गर्नुभयो ।
उहाँले नेपालको अपांगताको बारेमा पनि विभिन्न अध्ययन गर्नुभयो । युवा पुस्ता विदेश पलाइन भइरहेको सन्दर्भमा उहाँ राज्यले जिम्मेवारी लिएर युवालाई सचेतना परामर्श र रोजगारी दिँदै गयो भने विदेश पलायन केही हदसम्म रोक्न सकिने बताउनुहुन्छ ।
उहाँसँग समृद्धिखबरले गरेको कुराकारीको सम्पादित अंक :-
किन अपांगता पुनस्थापनमै विद्यावारिधि गर्ने सोच राख्नुभयो?
नेपालमा विभिन्न किताव पढ्दा, लेख, रिसर्च पेपर पढ्दा र वा व्यवहारिक रुपमा हेर्दा, बुझ्दा पनि अपांगता भएकाहरुको पुनस्थापन केन्द्र जरुरी छ भन्ने लाग्यो ।
कसैलाई बाँधेर राखिएको छ, कसैलाई थुनेर राखिएको छ,, त्यो देख्दा मैले पनि केही गर्न सकेँ भने केही टेवा पुग्छ की, मैले जानेका कुरा राज्यसँग ज्ञान बाँड्दा केही टेवा पुर्याउन सक्छु की भनेर रोजेकी हुँ ।
कोरियामा त धेरै सेवा सुविधा छ । त्यहाँ उनीहरु व्यवसायिक रुपमा काम गरिरहेका छन् । त्यहाँ हरेक कम्पनीमा १० प्रतिशत अपांगता भएका व्यक्तिहरु राख्नैपर्छ । नेपालमा त भएका कानुन लागू हुन पनि सकेको छैन ।
तपाईबाट नेपालले के पाउँछ ?
मैले त्यहाँ सिकेको कुरा नेपाल सरकारलाई वेलफेयरको रुपमा योगदान दिन चाहन्छु । किन भने १५औँ वर्ष बस्दाको अनुभव र सक्षमताले अब सरकारसँग सँगसँगै अघि बढ्न सक्छु । सेवा क्षेत्रमा भोलेन्टियरको रुपमा काम गर्न सक्छु । मैले जानेको ज्ञान शेयर गर्न सक्छ् । तलब नै दिनुपर्छ भन्ने छैन । यहाँ जानेको सीप सिकाउने र सेवा दिने काम गर्न उत्सुक छु ।
तपाई जस्ता धेरै नेपालीहरु विदेश गएर सीप र ज्ञानयुक्त भएका छन् । उनीहरुको ज्ञान, सीपलाई नेपालमा कसरी उपयोग गर्न सकिएला ?
त्यसका लागि सरकारले एउटा प्लेटफर्म दिनुपर्छ । दशौँ वर्ष पढेर वैज्ञानिक बनेका छन् । डाक्टर, इन्जिनियर छन् । उहाँहरुलाई सरकारले नीति बनाएर बोलाउनुपर्छ । तपाईहरुलाई स्वागत छ । त्यहाँ कमाएको जति पैसा नपाए पनि ठूलो अवसर छ । आफ्नो देशमा परिवारका साथ बस्न पाउनुहुन्छ र काम गर्न पाउनुपर्छ भनेर वातावरण बनाइदिएको खण्डमा धेरै फर्कन चाहनेहरु छन् ।
तपाइँको विद्यावारिधि नै अपांगताको पुनस्थापनामा छ , नेपालमा के छन् समस्या ?
मुख्य कुरा नेपालमा राम्रो नीति नियम नै छैन । भए पनि व्यवहारमा लागू छैन । पोलिसी र प्राक्टिसको अभाव छ नेपालमा । नेपालमा मेरो घरमा अपांगता भएका व्यक्तिहरु छन् भने मान्छेको मानसिकता नै फरक भएको देखिन्छ । त्यो सोचमा परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्ने भनेको शिक्षाले नै हो । जुम्ला/हुम्लाका मान्छेलाई सरकारको नियम नै थाहा छैन ।
रिसर्चमा जाँदा देखेँ काठमाडौँको एउटा स्कुलमा हुम्लाको एक शारीरिक अपांगता भएका विद्यार्थी आउनुभएको रहेछ । उहाँलाई सरकारले ४ हजार दिने रहेछ । ४ हजारले कसरी सर्भाइभ गर्ने । कोठामा बस्दा कसरी खर्च व्यवस्थापन गर्ने । त्यसपछि म रिसर्च गरिरहेको अवस्थामा स्कुलले फर्काइदिएपछि जुम्ला नै फर्किए । त्यसैले उनी जस्ताले पढ्न पाउने गरी पोलिसी नै परिवर्तन गर्नुपर्छ ।
अब तपाई के गर्ने सोचमा हुनुहुन्छ, पुनस्थापन केन्द्र नै खोल्ने योजनामा हो ?
अब मेरो सोच वा सपना चाहिँ नेपालमा डिसेबलहरुका लागि भोकेसनल ट्रेनिङ सेन्टर खोल्ने सपना छ । विभिन्न प्राध्यापक, थेसिस एड्भाईजर सबैले सहयोग गर्छौँ, तिमी नेपालमा के गर्न चाहन्छौँ भने भन्नुभएको छ ।
राज्यले कसरी फ्रिडम दिन्छ त, मैले कहाँसम्म गर्न सक्छु त? राज्यको नियम कानुनमा रहेर काम गर्न चाहन्छु । जहाँ उहाँहरुले आफैँले कमाएको हो भनेर परिश्रम गर्न सक्ने, आफ्नो योग्यताको आधारमा काम गरेर आफैँले जीविकोपार्जन गर्न सक्ने गरी एउटा भोकेसनल सेन्टर खोल्न सकियो भने राज्यलाई पनि सहयोग भयो र आफैँलाई पनि सन्तुष्टि भयो ।