काठमाडौँ । काठमाडौँमा आजदेखि नेपाल र भारतका कलाकारहरुबीच ‘सम्बन्ध’ शीर्षकमा तीन दिने कला प्रदर्शनी सुरु भएको छ ।
जरा फाउन्डेसनसँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना भएको प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कला प्रदर्शनीमा नेपालका २२ र भारतका १३ कलाकारको सहभागिता रहेको छ । भारतका कलाकारहरु समेत उक्त प्रदर्शनीमा प्रत्यक्ष सहभागि भएका छन् । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङबाट कलाकारहरु सहभागी भएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।

प्रदर्शनी उद्घाटनपछि आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विभिन्न कुटनीतिक सीमानाहरु हुने भए पनि सबैभन्दा चीर स्थायी सीमान भनेको साँस्कृतिक सीमाना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, कलाको भाषा अन्तरराष्ट्रिय भाषा हो, काम गर्दै जाँदा त्यहाँ पनि साँस्कृतिक भाषा हुन्छ, त्यो साँस्कृतिक भाषाले एक ठाउँमा बाँध्छ । उहाँले राजनीतिक र भूगोलले नेपाल र भारत भनेर बनाएपनि दुई देशको साँस्कृतिक सिमानाले कहिले अलग नगरेको अविछिन्न सीमाना रहेको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले कला प्रदर्शनी मात्रै नभएर नाट्य सङ्गीत र लेखकको सम्बन्धलाई पनि प्रगाढ बनाउन सकिने बताउनुभयो । उहाँले यस्ता सिर्जनाले आपसी भाइचाराको विकास र सम्बन्ध थप मिठास बनाउने बताउनुभयो।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको भाषाले सीमाविहीन सम्बन्ध रहेको बताउनुभयो । उहाँले राजनीतिक सीमाले हामीलाई कहिल्यै नछेक्ने हुँदा सिर्जनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो । उहाँले छिमेकी देशबाटै सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ भनेर लागेको बताउनुभयो । केही अघि मात्रै जर्मनीसँग यस्तै कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नामबाटै कला प्रदर्शनीको औचित्य पुष्टी हुने बताउँदै सदियौँ देखिको सम्बन्धलाई थप मजबुद बनाइराख्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
भारतबाट आएका कलाकारको नेतृत्व कवि एवं कलाकार दीपा राईले गर्नुभएको छ। उहाँले सम्बन्धमार्फत एउटा सुरुवात भएको र यसले आपसी सम्बन्ध जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भौगोलिक रुपमा टाढा भए पनि कला र मनले जोडिएर रहेको सुनाउनुभयो ।

प्रदर्शनीमा भारतबाट कलाकारहरु दीपा राई, पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकाश सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पा हुनुहुन्छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीका क्रममा भोलि शुक्रवार दुई देशका कलाकारको सहभागितामा कला कार्यशाला र छलफल हुने छ ।
https://www.facebook.com/samriddhisanchar/videos/1609194003166965