काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउन लागिएको छ ।
विगतका होली पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनुका साथै सडक अनुशासन पालना गराउन ट्राफिक प्रहरीहरू खटाउन लागिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै सुरक्षा जाँचको व्यवस्था मिलाएको छ ।
त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिने तथा दुर्घटनारहित होली पर्व मनाउन र उछिृङ्खल गतिविधिल नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्न लागिएको छ ।
मूख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो उपस्थितिको योजना बनाइएको र त्यसका लागि ९ सयभन्दा बढी ट्राफिक प्रहरी खटाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्रगति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेउपर विशेष निगरानी गरिने जनाइएको छ । यस्तै अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाईका साथ कारबाही गरिने चेतावनी दिइएको छ ।
विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ सुरक्षा जाँचको व्यवस्था मिलाएको र अनुमती विपरित रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्नेलगायतका उच्छृ्रङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको (मापसे र लापसे) सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने भएकाले सावधानी अपनाउन र त्यस्ता गैरकानुनी गतिविधि नगर्न अनुरोध गर्नुभएको छ ।
आज एक सूचना जारी गरी उपत्यका ट्राफिकले सभ्य भएर होली मनाउन पनि सार्वजनिक आग्रह गरेको छ। पहाडी क्षेत्रमा भोलि चैत ११ र तराइमा चैत १२ गते होली पर्व मनाइँदै छ ।