काठमाडौँ : अपरिचित व्यक्तिसँगै एकै छिनको चिनाजानको भरमा उनको विश्वासमा पर्दा ठूलो आपतमात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।
पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त झण्डैले जोगिइन् तर ठगीमा परिन् भने लोभमा गिरोहसँग विहे गर्न पुगिन् ।
नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।
प्रहरीको मानब बेचबिखन अनुसन्धान व्यूरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ ।
पीडितकै ६ लाख समेत उनले ठगी गर्न सफल भएका छन् । ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले शुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मन पर्यो म तिम्रो बहिनीको उपचारको लागि पूर्ण सहयोग गर्छु, मृगौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो ।
उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारको लागि ७० लाख भन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न ६ लाख लाग्छ भनी पीडितबाटै ६ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिनुभयो ।
उनले मृगौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पुर्याइएकोमा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाहरुले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात महिला नेपाल फर्की आएकी थिइन् ।
त्यसपछि पीडित महिलाले ब्यूरोका दिएको जाहेरीका आधारमा ब्यूरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताउनुभयो ।