काठमाडौँ : सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने कार्य आज सकिएको छ ।
बुधबारदेखि शुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
बयान सकिएसँगै उहाँलाई पुन नर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । स्वास्थ्यको कमजोर अवस्थाका कारण उहाँलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि ४ दिनको म्याद लिएर सीआइबीले अनुसन्धान गरिरहेको छ। आज थपिएको म्याद सकिने अन्तिम दिन हो। उहाँमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अघिल्लो पटक सिआइबीले उहाँमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।
यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले जिल्ला सरकारी वकीलको रोहबरमा सांसद विनोद चौधरीसँग बयान लिएको छ । बयान दिएपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ ।
पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उहाँले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताउनुभयो । उहाँमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो ।