काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ४ दिनको म्याद पाएको छ ।
सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई काठमाडौँ जिल्ला अदालतले आज नेता महरामाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको राससलाई जानकारी दिनुभयो । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो । नेता महरालाई कपिलवस्तुबाट विहान नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको थियो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिनुभएको थियो ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।
उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् ।
यसअघि उक्त प्रकरणको अनुसन्धानमा त्रुटी भएको सुनको अबैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि तत्कालिन सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केही अघिको मन्त्रिपरिषद्को निर्णयले प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।
त्यसबेलाका सुन प्रकरणको अनुसन्धान टोली संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायव उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वाटर तानिएको छ । उक्त प्रकरणमा अहिले सिआइबीका नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दैछन् ।
मन्त्रिपरिषद्ले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरिसकेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नाम जोडिएका केही व्यक्तिहरुलाई त्यसबेला सिआइबीले बयान कागज गरेर मात्रै छाडेको थियो । त्यसमध्य महरा पनि एक हुनुहुन्थ्यो ।
उनको स्वास्थ्य अवस्था राम्रो नभएकाले अस्पताल राख्नआदेश भए अनुसार उनलाई नर्भिकमा भर्ना गरिएको सिआइबीले जनाएको छ।