काठमाडौँ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उक्त प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न आग्रह गर्नुभयो ।
उहाँले जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसअघि हिजो मात्रै आयोगले उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेलाई बुझाएको थियो ।
प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूचीको रहेको छ । भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर÷डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समावेश छ ।