काठमाडौँ । ‘नेपाली क्यारिकेचर २०८०’ को प्रदर्शनीका क्रममा काठमाडौँको नक्सालमा बिहीवार अग्रज कलाकार तथा कला क्षेत्रमा अध्ययनरत विद्यार्थीबीच अन्तरक्रियात्मक मन्थन भएको छ ।
उक्त छलफलसँगै फागुन २७ गतेबाट शुरु भएको ‘नेपाली क्यारिकेचर २०८०’ को प्रदर्शनी पनि बिहीवार समापन गरिएको छ । सो क्रममा कलाकारहरुले समाजमा छवि बनाएका व्यक्तिका क्यारिकेचर नै उत्कृष्ट हुने र त्यसले छुट्टै छाप कायम गर्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा गएको पाँच दिने प्रदर्शनीको समापनका क्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाले क्यारिकेचरमा युवा पुस्ताको आकर्षण बढ्न थालेको र यस विधामा लागेर पनि जीवन निर्वाह गर्न सकिने सम्भावना देखाएको बताउनुभयो ।

छलफलमा भाग लिँदै कार्टुनिस्ट अनुप गुरुङले कार्टुन वा क्यारिकेचरको पात्र छनोट र प्रतियोगितामा सहभागी हुँदाको अनुभव सुनाउँदै क्यारेक्टर र सन्देशलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कलाकार नविन्द्र राजभण्डारीले पहिले र अहिलेको क्यारिकेचर कला फरक भएको बताउँदै प्रविधिको विकास यसको मुख्य कारण भएको उल्लेख गर्नुभयो ।
कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर बनाउँदा सामाजिक दृष्टिले सकारात्मक छवि बनाएका व्यक्तिलाई छनोट गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले क्यारिकेचर बनाउँदा त्यसले सकारात्मक सन्देश दिने र दर्शकले मनोरञ्जन पनि लिने बताउनुभयो ।
“थोरै बढाइचढाइ पनि हुन्छ, त्यसलाई कसरी आकर्षक रुपमा प्रस्तुत गर्ने भन्ने कुरा कलाकारमा भर पर्छ”, श्रेष्ठले भने कसैको नाक केही लामो छ भने कतिसम्म लामो बनाउने भन्ने निर्णय स्वयं कलाकारले गर्नुपर्छ असुहाउँदो बनाएर त भएन ।” दर्शकले हेर्दा नै ए यो त त्यो मान्छे हो भनेर चिन्न सकोस् र हेरेर मनोरञ्जन पनि लिगोस् भन्नेमा त्तयान दिनुपर्ने उहाँले बताउनुभयो ।
त्यसरी बनाउँदा क्यारेक्टर मर्न दिन नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले क्यारिकेचर भनेको रमाइलो नै हुने तर त्यसले व्यक्तिको पहिचान मेटाउन नहुने बताउनुभयो ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस प्रदर्शनीले कलाकारलाई क्यारिकेचर जस्तो फरक व्यावसायिक क्षेत्रको सम्भाव्यता अन्वेषण गर्ने बाटो देखाएको बताउनुभयो ।
क्यारिकेचर प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरूङ, अर्पिता शाक्य, अशोकमान सिं, वामन चालिसे, वासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केलीका क्यारिकेचर समावेश थियो ।
यस्तै हरिशरण ढुङ्गाना, केशवराज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एनबि गुरूङ, पल्पासा मानन्धर, पानसिंह तमोर, रवि मिश्र, रविन सायमी, रविन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डंगोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला उमेशचन्द्र अधिकारी लगायतले सहभागिता जनाउनुभएको थियो ।