काठमाडौँ : चितवनको रत्ननगरस्थित एक होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी १४ वर्षकी बालिका (छात्रा) शालीन पोखरेलको सुसाइड नोटमा उनकै अक्षर रहेको (उनैले लेखेको) पाइएकोछ ।
नेपाल प्रहरीको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा उनी आफैँले लेखेको पुष्टि भएको जनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले विधिविज्ञान प्रयोगशालाबाट उनकै अक्षर म्याच भएको पुष्टी भएको र उक्त रिपोर्ट आजै चितनव पठाइसकिएको बताए ।
रिपोर्टमा ‘कमन अर्थर’ भनेर उल्लेख छ । त्यो भनेको एकै लेखकले लेखेको भन्ने हुन्छ । परीक्षणका लागि चितवनबाट उनको सुसाइड नोटसहित कापी र उत्तरपुस्तिका पनि प्रयोगशालामा ल्याइएको थियो । नोटमा ‘एभ्रिबडी आइएम सरी’ उल्लेख रहेको चितवन प्रहरीले बताएको छ ।
परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाइरहेका बेला यसअघि प्रयोगशालाबाट उनको झुण्डिएर मृत्यु भएको पुष्टि भइसकेको छ ।
यसैबीच परिवारले उनको आजै दाहसंस्कार गरेका छन् । पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
उक्त घटनामा परिवारका तर्फबाट स्कुलका प्रिन्सिपलसहित तीनजनामाथि परेको किटानी जाहेरीमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले उक्त प्रक्रिया अदालतमा पुगेकाले अदालती प्रक्रिया पुरा गरेर मात्रै टुंगिने बताए ।
चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा बसेकी १४ वर्षकी शालीन पोखरेलको यही फागुन १२ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । मृतकका परिवारले हत्या र बलात्काार भएको दावी गरेको थियो।
परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई फागुन १५ गते पक्राउ गरेको थियो।