काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिको आसपास क्षेत्रमा मासु, मदिरा तथा नशालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा उक्त वस्तु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको जानकारी दिए।
महाशिवरात्री पर्व, २०८० लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यसमेतलाई मध्यनजर गरी यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि निषेध गरिएको उनले बताए।
उक्त चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) वमोजिम पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।