काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँलगायत देशैभर गरेर १० जनाको विभिन्न घटनामा मृत्यु भएको छ । पाँच जना मृत फेला परेका र ५ जनाको दुर्घटनामा परी ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२३ बिन्धीस्थित सडकमा प्रदेश २–०२–००१ क् ०४३१ नम्बरको स्कुल बसको ठक्करबाट २ जनाको आइतबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया राखी देवी यादव र ५८ वर्षीया देवकली देवी साह रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएकी राखी देवी यादवको प्रादेशिक अस्पताल जनकपुर र देवकलीको स्वस्तिका अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्री अन्य ६ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका–३ धुम्बराही चोकमा ना.८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको तादी गाउँपालिका–४ सातबिसे बजारमा बा.३ ख ३५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय डिल्ली बहादुर पाठकको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरले स.९ प १२१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २० वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा बाग्मती प्रदेश ०१००३ क ९७५६ नम्बरको ट्रकले भे.१२ प ३४२२ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बाँके नेपालगंज उपमहानगरपालिका–१ साई गाउँ बस्ने ३४ वर्षीय सुरेश चन्द पाठकको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको बागचौर नगरपालिका–१२ सिल्ले गोठ बस्ने ५४ वर्षीय सेतिराम खत्री सोही ठाउँस्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा नगरपालिका–४ धाङ्सी खोलामा सोही नगरपालिका–१० धवाङ बस्ने २९ वर्षीय मनिष थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ कन्चनबारीस्थित गोठमा हाल वतन नखुलेको अन्दाजी ४५ वर्षीय सबिन राई आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको निलकण्ठ नगरपालिका–१३ केरुङजामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।