काठमाडौँ : पूर्व युवराज पारस शाहले चितवनको भरतपुर महानगरपालिका–४ पिपलचोकमा रहेको सनराईज ईङ्लिस स्कुलका विद्यार्थी बोकेको स्कुल बसका चालकलाई पेस्तोल देखाएको भनिएको घटना अहिले भाइरल भइरहेको छ ।
फागुन १४ गते नेपाल क्रिकेट एसोसिएशन (क्यान) बागमती प्रदेश सदस्य अनिल अधिकारीले फेसबुकमा लामो स्टेटस राख्दै भनेका छन्, ‘चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको बसका ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटना….लाई जानकारी गराएको छु।’
त्यसपछि घटना सामाजिक सञ्जाल हुँदै मिडियाहरुमा छरपष्ट भए। उनको स्टेटसपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्काे स्टेटस राखे, ‘….महोदयले पारस सरकारले चितवनमा विद्यार्थीलाई गोली ताके भनेर हल्ला गरेछन्…।’
अनिल र शाहीले आरोप प्रत्यारोपसहित अर्को थप एक/एक स्टेटस फेसबुकमा राखेका छन्। त्यसपछि विषय बढी नै भाइरल बन्यो। अनि सबैको चासोको विषय बन्यो चितवनको भरतपुर महानगरपालिका–४ पिपलचोकमा रहेको सनराईज ईङ्लिस स्कुल। घटनाको वास्तविकता भने अहिलेसम्म कसैले सार्वजनिक गरेको छैन। स्कुलको तर्क आफ्नै छ । प्रहरीको तर्क आफ्नै छ। सामाजिक सञ्जालमा विषय राख्नेको तर्क आफ्नै छ।
जे जस्तै भए पनि स्कुल जस्तो संवेदनशिल क्षेत्रको विषय भएपछि अहिले मानिसको मनमनमा फैलिरहेको प्रश्न के छ भने त्यहाँ पेस्तोल ताकिएको हो? पेस्तोल ताक्दा विद्यार्थीहरु तर्सिएका हुन्? पेस्तोल ताकेका भनिएका व्यक्ति पूर्व युवराज पारस शाह हुन्? यदी घटना भएकै हो भने किन कसैलाई पक्राउ गरेर कारबाही गरिएन? कि यो हल्ला मात्रै हो?
के हो त वास्तविकता?
हामीले पनि ति प्रश्नहरुको उत्तर खोज्ने प्रयास गर्यौँ । घटना गएको बुधबार फागुन ९ गते को हो । आज घटना भएको भनिएको ठिक एक हप्ता कटेको छ। त्यसदिन विद्यालय छुट्टी भएपछि सदा झैँ विद्यार्थी लिएर बस गन्तव्यतर्फ लाग्यो।
“बस बच्चालाई लिएर घर छाड्ने क्रममा जाँदै थियो। बस भरतपुरको गौरीगञ्जस्थित सल्यानी रोडमा टर्निङ लिएर बच्चा झार्दै थियो । त्यो बेला एउटा कार तीव्र गतिमा आइरहेको थियो । पछाडीबाट हर्न बजाइरहेको थियो। बस टर्निङमा भएकाले तत्कालै कारबाट मानिस ओर्लिएर आए ।
चालकसँग भनाभन भयो । त्यसपछि उसले शरीरबाट पेस्तोलजस्तो वस्तु देखायो र फेरि आफ्नो गन्तव्यतर्फ गयो”, चालकले भनेको कुरा उद्यृत गर्दै स्कुलका प्रिन्सिपल शिवकुमार बगालेले कुराकानीमा घटना विवरण खुलाए। उनले यो घटना कुनै योजनाबद्धरुपमा नभएको पनि जिकिर गरे।
चालकलाई कालो रङको गाडी भएको मात्रै थाहा छ, अरु तथ्य चालकसँग छैन। उनका अनुसार सोधपुछका क्रममा चालकले भनेका छन्, “मैले कोही पनि मान्छे चिन्दिन सर, शरीरबाट पेस्तोलजस्तो वस्तु निकालेर देखायो र ऊ गइहाल्यो, मैले फोटो खिच्न पनि भ्याइन।” बगालेले २ मिनेटको अन्तरालमा सब घटना भएको आफूले पाएको सुनाए।
प्रिन्सिपल बगाले यो घटना कुनै विगतमा सम्बन्ध भएको विषय पनि नभएको जिकिर गर्छन्। “इन्टेन्सन हो जस्तो पनि छैन, योजनाबद्ध हिसाबले भएको पनि होइन। बाटोमा हिँड्दा खेरी संयोग भएको हो भनेर हामीले अभिभावकलाई पनि भनेका छौँ”, बगालेले भने।
उनले एउटा मान्छेले अभद्रता देखायो, बाटो अवरोध हुँदा त्यो तर्साउनलाई गरेको होला भन्ने भएर स्कुलले ठूलो रुपमा नलिएको र करिबकरिब घटना सेलाइसकेको बताए तर दुई दिन अघि एक जना अभिभावकले स्टेटस राखेपछि भने घटनाले अर्कै रुप लिएको उनले सुनाए।
विषय मिडियाहरुमा पनि आयो, त्यसको भोलिपल्ट सादा पोशाकमा स्कुलमा प्रहरी पुगे। घटना विवरण बुझे। चितनवको गीतानगरबाट प्रहरी त्यहाँ गएको थियो।
प्रिन्सिपलसँग प्रहरीले भने, “घटनामा शंका छ भने किटानी जाहेरी दिनुस्, नत्र हामी आफ्नो ढङ्गबाट अनुसन्धान गर्छौँ।”
चालकले मान्छे चिनेको छैन, घटना नियोजित पनि लागेको छैन, अनि बाटोमा हिँड्दा संयोगका घटना हुन्छन् भन्ने भएपछि किटानी जाहेरी नदिएका बगालेले सुनाए । “प्रहरीले आफ्नो काम पक्कै गर्यो होला भन्ने लाग्छ”, बगालेले थपे।
अहिले भने विद्यालयका शिक्षक तथा चालकलाई तारम्तार फोन आइरहेकाले थप मानसिक तनाव बढेको उनले गुनासो गरे। एक हप्ता अघिको घटना खासै ठूलो जस्तो नलागेर हराइसकेको अबस्थामा एकाएक भाइरल भइदिँदा जवाफ दिएर साध्य नै नभएको उनले सुनाए।
अहिले फोन आउँदा हामीलाई अरु केही थाहा छैन, व्यक्तिको हवाला दिएर हामीलाई केही पनि नभन्नुहोला, जे बुझ्नुहुन्छ प्रहरीसँग बुझ्नुस् भनेर भन्ने गरेको उनले सुनाए।
उनी अनुरोधका साथ भन्छन्, “यही विषयलाई मसला बनाएर गेम खेल्ने काम नगरिदिनुस्। अहिले चाहिँ हामीलाई तनाव भइरहेको छ । म्यासेज सर्कुलरले समस्या भयो । हामीमाथि टेकेर कसैले राजनीतिक नगरोस्। विद्यार्थीका सिकाइका कुराहरु मात्र बाहिर जाओस्।”
उनले बाहिर आएजस्तो स्कुल डरायो, विद्यार्थी त्रासमा रहेका भनेर जुन कुरा आइरहेको छ त्यो सत्य नभएको पनि बताए। बाहिर आएका समाचार भ्रामक भएको बताउने बगाले थप्छन्, “घटनालाई हामी डराएर लुकाएको भन्ने कुरा भने होइन, यसो गरे उसो गरे भनेर आइरहेको छ, त्यो होइन ।”
घटना बाहिर ल्याउने अनिल अधिकारी के भन्छन्?
शुरुमा घटना भएको भनेर विषय बाहिर ल्याउने अनिल अधिकारी भन्छन्, “आफूले बाहिर आएको कुराहरु लेखेको हो, बच्चा ड्राइभरहरुले भनेका छन्, मलाई कुनै स्क्याण्डल मच्चाउनु छैन, यत्रो घटना मच्चाउने तर केही थाहा छैन भन्नु त गलत भयो नी!”
उनले थपे, “ल पारस शाह होइन रहेछन् भने, त्यो मान्छे को हो त? बाहिर ल्याउनुपर्यो नी प्रहरीले? गाउँलेले पनि देखेका छन्, १०÷१५ मिनेट सबै आत्तिएर भागेका छन् घटना घटेको छ।”
चितवन प्रहरी के भन्छ?
त्यस विषयमा चितवन प्रहरीसँग पनि कुराकानी भयाे। चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रीराम भण्डारी उक्त स्कुलको विषयमा कुनै पनि जानकारी वा सूचनाहरु नरहेकोे र प्रहरीको कुनै युनिटमा पनि रिपोटिङ नभएको बताउँछन्।
डिएसपी भण्डारीले भने, “मैले पनि अनलाइनतिर देखेँ। प्रहरीमा उजुरी छ की भनेर बुझेँ। कतै रिपोटिङमा पनि छैन। गीतानगरबाट प्रहरी निरीक्षक बुझ्न जानु भएको थियो तर केही जानकारीमा आएन।”
स्कुलभित्र वा बच्चा भएको समयमा कुनै घटना नभएको दावी गर्दै भन्डारीले भने, “अघि/पछिको घटना भएको भए पनि कुनै रिपोटिङ छैन।” यसले चितवनमै भएको २०६७ सालको रुवेल प्रकरणलाई एकपटक झकझक्याइदिएको छ।