काठमाडौँ : ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनीको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकन गरेका छन् ।
उनको व्यस्तताले प्रदर्शनी सकिनु एक दिन अघि नै प्रधानमन्त्री दाहाललाई बोलाएर समापन समारोह आयोजना गरिएको हो ।
काठमाडौँको नेपाल कला परिषद्मा फागुन ५ गतेदेखि शुरु भएको प्रदर्शनी भोलि फागुन १७ गतेसम्म रहने छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गरेका थिए।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताए। उनले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको बताए।
“प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,” प्रधानमन्त्री दाहालले भने, “कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।”
प्रदर्शनीमा ५१ देशका १३७ चित्रकारले बनाएका २१३ वटाभन्दा बढी चित्र समावेश रहेका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए।
उनका अनुसार शुरुमा १४ देशका ४३ जना स्वदेशी तथा विदेशी चित्रकारको सहभागितामा खोटाङमा पाँचदिने लाइभ पेन्टिङ भएको बताए।
प्रदर्शनीमा भने अन्य देशका चित्रकारसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारले कोरेका चित्रहरू राखिएको छ । चित्रकला प्रदर्शनीले खोटाङको पर्यटन प्रवर्धन गर्ने लक्ष्य रहेको बताए।
प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रूपमा विकास गर्ने बताए। उनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थललाई चित्रमा उतारिएको बताए। उक्त नगरपालिका र धनु आर्ट स्टुडियोको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।