काठमाडौँ : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उहाँलाई छोरा गायक स्वरुपराज आचार्य र सत्यराज आचार्यले दागवत्ती दिनुभएको थियो ।
भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको सोमवार ८२ वर्षको उमेरमा निधन भएको थियो । सोमवार अपराह्न ४ बजेतिर अचानक अक्सिजन तह कम भएपछि उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको हो ।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ।
विसं १९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । दाहसंस्कारका लागि आर्यघाट लानु अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँको पार्थिब शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उउप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायतको उपस्थिति रहेको छ ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मासहित गीत सङ्गीत तथा चलचित्र क्षेत्रका कलाकार एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।