काठमाडौँ : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा सङ्गीतकार स्व भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
प्रतिष्ठानमा राखिएको उहाँको पार्थिब शरीरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी अन्तिम श्रद्धाञ्जलि दिनुभएको हो । त्यसपछि अन्य शुभेच्छुक तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
प्रतिष्ठानमा श्रद्धाञ्जलि अर्पणका लागि आचार्यका शुभेच्छुक तथा गीत, सङ्गीत क्षेत्रमा सयौँ व्यक्तिको उपस्थिति रहेको छ ।
प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले विहान ११ बजेबाट शुभचिन्तक, गीत संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट श्रद्धाञ्जलीको कार्यक्रम चलिरहेको र केही समयपछि श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो ।
त्यसपछि आजै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने उहाँले बताउनुभयो । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको सोमवार ८२ वर्षको उमेरमा निधन भएको थियो ।
आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो ।
उहाँको सोमवार अपराह्न ४ बजेतिर अचानक अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै उहाँको निधन भएको हो । उहाँ दशैंँमा लडेर चोट लागेको बताइएको छ ।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।
उहाँको राष्ट्रिय सम्मानका साथ विदाईको तयारी छ । १९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।