काठमाडौँ । नेपाल कला परिषद काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीमा राजनीतिक नेतृत्व, सामाजिक व्यक्ति तथा कला पारखीहरुको उपस्थिति बाक्लिँदै गएको छ ।
कला अवलोकनमा चाख देखाउँदै उहाँहरु दैनिक जसो कला प्रदर्शनी हेर्न आइरहनुभएको छ । आज मात्रै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहितका नेताहरुले अवलोकन भ्रमण गर्नुभयो । उहाँहरुले प्रदर्शनीको खुलेर प्रशंसा गरेका छन्।
सो क्रममा उहाँले जिल्लामा लुकेर रहेका प्राकृतिक दृष्य, सम्पदा तथा मौलिक विषयलाई कला सिर्जनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभएको छ ।
पूर्व राष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कला संसकृति र रहनसहनलाई क्यान्भासमा उतारेर काठमाडौँमा ल्याई प्रदर्शन गर्दा विशेषत खोटाङको परिचय आम नेपाली र विश्व सामु पुग्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
कला सिर्जनाको अवलोकन पछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी यस्ता कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिनुभयो ।

उक्त प्रदर्शनीको आजै जनता समाजदावी पार्टी नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एबं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन भ्रमण गर्नुभयो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी शुरु भएको हो । उक्त ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहने छ ।
प्रदर्शनीमा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । सांसद राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत कला अवलोकनमा चाख देखिएको छ ।

यसअघि प्रदर्शनीमा सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत सांसदहरुले अवलोकन गरिसक्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता गगन थापा लगायतका नेताहरु पनि आउने आश्वासन पाएको बताउनुभयो ।
प्रदर्शनीमा ५० देशका २१० चित्रसिर्जना समावेश छ । स्वदेशी र नेपाल आएका विदेशी (१४ देशका) कलाकारले गएको असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तरर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भइ बनाएका सिर्जनाहरु यहाँ समावेश छ ।

त्यसका साथै विदेश र स्वदेशबाट मगाइएका गरी कुल ५० देशमा २१० भन्दा बढी चित्रहरु प्रदर्शनीमा राखिएको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो ।
प्रदर्शनीमा अवलोकनका लागि कला पारखीहरुको बाक्लो उपस्थिति हुने गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख भट्टराईले पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि उक्त प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले एउटै चित्रहरु २,३ लाखमा किन्ने भनेर धेरै आउनुभएको तर यहाँ समावेश सबै चित्रकलालाई अन्तरराष्ट्रिय संग्रहालयका बनाएर खोटाङमै राखिने बताउनुभयो ।
नेपालसहित अस्ट्रेलिया, बाङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामका कलाकारले दिक्तेल नै पुगेर चित्र बनाएका थिए ।