चितवन । चितवनको कोराकस्थित कालिखोलाका राजकुमार प्रजा २० वटा गैँडा मारेको अपराघमा जेलमा छन् ।
११ वटा गैडा मारेको मुद्दामा १५ वर्ष जेल सजाय पाएका काजिमान प्रजा पनि यही क्षेत्रका हुन् तर गैँडा धेरै मार्ने यि दुई प्रतिनिधि पात्र मात्र हुन । कोराकको समिटार, चिप्लेटी, कालिखोला, सैपाङ्ग र बाँसघारी आसपासबाट थप्रै व्यक्तिहरु गैँडा मुद्दामा समातिएका छन् ।
चितवनस्थित पूर्वपश्चिम राजमार्गको उत्तरी दिशामा पर्ने राप्ती नगरपालिका ८, खुरखुरे चोकबाट उत्तरतर्फ ७ किलोमिटर जति पर छ, चेपाङ्ग समुदायको बाक्लो बस्ती भएको पहाडी गाउँ कोराकको समिटार ।
त्यहाँबाट १ घण्टाको पैदल बाटोमा पर्छ कालिखोला । सातरआठ वर्षयता समिटार हुँदै गाडी चल्न थलेपछि यो ठाउँमा चहलपहल बढेको छ तर त्यही कालिखोला, सैपाङ्ग, बाँसघारी जंगलको बीचमा रहेको बस्ती भएकाले त्यस्तो केही चहलपहल कम हुन्थ्यो । कालिखोला, सैपाङ्ग, बाँसघारीमा खासै परिर्वतन देख्न पाइँदैथ्यो ।
यो ठाउँमा खासै कसैको आँखा परेको थिएन । ग्रामिण अविकसित भेगका पिछडिएको जीवनशैली, आयआर्जनको न्यून अवसर भएकाले गाउँमा युवाहरुलाई प्रलोभनमा पारी गैरकानूनी क्रियाकलापहरु सञ्चालन गरी वन्यजन्तु चोरी शिकारीमा संलग्न हुने ठाउँको रुपमा यो स्थान परिचित थियो ।
विगतमा समिटार, कालिखोला, सैपाङ्ग र बाँसघारीका युवाहरुलाई प्रलोभनमा पारेर तस्करहरुले गैँडा मार्न लगाउँथे । केही अघिसम्म गैँडा सिकारीको गाउँका रुपमा चिनिने यि क्षेत्रको परिचय हाल भने परिवर्तन भईसकेको छ ।
यसरी फेरियो दैनिकी
समिटारका वीरबहादुर प्रजाको घर अगाडि हरेक विहान र साझ चहलपहल हुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा आइडब्लुटी च्यालेन्ज फण्ड (IWT Challenge Fund) को आर्थिक सहयोग तथा कालिका सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा ४८ घरमा उन्नत जातका गाईपालन सुरु भएको छ ।
उनीहरु दुध संकलन गर्छन् र गाँउबाट ४ किलोमिटर टाढाको दुध डेरीमा पुर्याएर बेच्छन् । दुध बेच्न आउनेमा अधिकांश गैँडा मुद्दामा १५ वर्ष जेल जीवन बिताएर गाउँ फर्किएकाहरु छन् ।
मंगलबहादुर प्रजा
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेको अभियोगमा सजाय भोगेर जेलमुक्त भएका मंगलबहादुर प्रजाको दैनिकी फेरिएको छ । राप्ती नगरपालिका वडा नं १०, स्वामीटार निवासी उनलाई केही वर्ष समाजमा घुलमिल हुन निकै गाह्रो भएको थियो ।
१५ वर्ष जेल सजाय भोगेर विसं २०७५ सालमा जेलमुक्त भएका प्रजाले गाउँ फर्किएर संघर्ष सुरू गरे । उनको १५ जनाको संयुक्त परिवार छ । जेलबाट फर्किएपछि परिवारको जिम्मेवारी उनको काँधमा आइपर्यो ।
१५ वर्षपछि गाउँ फर्किएर उनले राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको सहयोगमा व्यवसायिक पशुपालन सुरू गरे । पशुपालनबाट कमाएको पैसाले गाउँमै सुरू गरेको किराना पसलले उनको जीवनस्तर उकासिएको छ ।
उनको गोठमा उन्नत जातका ४ वटा गाई, २ वटा बाच्छी र २५/३० वटा बाख्रा छन् । उनले दैनिक २० लिटर दुध बेच्छन् । किरानासँगै उनले मासु पसलसमेत सञ्चालन गरेका छन् । ‘गाई पालेर दूध बेच्छु’, उनले भने,‘बाख्रा, कुखुरा र बंगुर पालेर आफैँले मासु पसल सञ्चालन गरेको छु ।’ उनले गाउँमै व्यवसाय गरेर १५ जनाको परिवार सुखले पालेको बताए ।
मंगलबहादुर जस्ता गैँडा मारेको अभियोगमा सजाय भोगेर जेलमुक्त भएका समीटारका चेपाङ्गहरुले व्यावसायिक पशुपालनबाटै दैनिकीलाई सहज बनाएका छन् । जेलमुक्त भएर गाउँ फर्केका ४८ जनाले व्यावसायिक पशुलालन तथा व्यापार गरेरै परिवार मात्रै पालेका छैनन्, मनग्य आम्दानीसमेत गर्न सफल भएका छन् ।
गाउँमा पशुपालन व्यवसाय गरेका उनीहरुले पक्की घर बनाएका छन् ।‘दैनिक ३० किलो मासु बिक्री हुन्छ’, मंगलबहादुरले भने, ‘मासु बिक्रीबाटै मासिक ५० हजार बढी कमाइ हुन्छ ।
पहिला परिवार पाल्न नसकेर नराम्रो काममा लागियो, गर्न सकियो भने गाउँमै पैसैपैसा रहेछ । श्रममार्फत आर्जन धनले मात्र सम्मान पाइने रहेछ ।’
वीरबहादुर प्रजा
विसं २०७५ सालमै जेलमुक्त भएका सोही ठाउँ निवासी वीरबहादुर प्रजाको पनि अवस्था दयनीय थियो । १५ वर्षपछि गाउँ फर्किंदा खेती गर्न सक्ने अवस्था थिएन ।
जेलबाट फर्के लगत्तै उनले पशुपालन सुरू गरे । पशुपालनबाट भएको आम्दानीले उनले अहिले घरमै किराना पसल सञ्चालन गरेका छन् । वीरबहादुरले राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको सहयोगमा व्यवसायिक रुपमा गाई, भैँसी र बाख्रापालन गरेका छन् ।
उनको घरमा उन्नत जात (बोयर) को बोकासहित १५ वटा बाख्रा, २ वटा भैँसी छन् र एउटा उन्नत जातको गाई छ । उनको घरमा दैनिक ८ लिटर दुध उत्पादन हुन्छ । ‘पशुपालनबाट भएको आम्दानीले किराना पसल सञ्चालन गरेको छु’, उनले भने ।
पशुपालनसँगै किराना पसलबाट समेत राम्रो आम्दानी हुने गरेको छ । जेलमुक्त भएपछि गाउँमा सुरू गरेको व्यवसायले जीवन सहज बनाएको उनले बताए ।
‘अरुका लागि काम गर्दा जेल जान पर्यो’ उनले भने, गैँडा मार्ने काम गरेको होइन, साथीभाइको लहलहैले जेलमा परियो ।’
कालिका वनका अध्यक्ष माधव गिरी
उनीहरु त प्रतिनिधि पात्र मात्र भए । कोराक र सिद्धीको समिटार, कालिखोला, सैपाङ्ग र बाँसघारीलगायत यसको आसपास क्षेत्रमा जेलमुक्त भएका ४८ जनाले व्यावसायिक रुपमा गाई र १८० घरमा बाख्रापालन गरिरहेका कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरीले बताए ।
बाँकी १५ जनाले पशुपालन तथा व्यापार व्यवसाय गरिरहेको उनले जानकारी दिए । महिलाहरुलाई कार्पेट तालिम र तान वितरण गरिएको छ ।

युवाहरुलाई ड्राइभिङ्ग, इलेक्ट्रीसियन र प्लम्बरको तालिम दिनुमा साथै संरक्षण शिक्षा र शिक्षाका लागि छात्रवृत्ति वितरण गरिएको छ ।
जेलमुक्त भएपछि गाउँ फर्किएकाहरुलाई उद्यमी बनाउन कालिका सामुदायिक वन र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले सहयोग गरेको छ ।
पहिले चेपाङ्गले पनि गाई पालन गर्छ भनी खिसीटिउरी गर्नेहरु दङ्ग परेका छन् ।‘अहिले जेलमुक्त भएकाहरुको जीवनशैली फेरिएको छ’, गिरीले भने, ‘सबैजना उद्यमी भएर कमाउन लागेका छन् ।
कोषकी आयोजना व्यवस्थापक शाह
व्यावसायिक रुपमा पशुपालन गरेका चेपाङ्ग समुदायले पैसा कमाएर नयाँ घर बनाएको उनले बताए । कोषले प्रदान गरेको तालिम, बीउ पूँजीको सही लगानी र उपयुक्त वातावरणले चेपाङ्गहरुको आर्थिक, सामाजिक हैसियत परिवर्तन भएको सहजै अनुभूति गर्न सकिन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, सौराहा कार्यालयका आयोजना व्यवस्थापक रचना शाहका अनुसार गैँडा चोरी शिकारीमा लागेर जेल बसेका व्यक्तिका परिवार, सजाय पुरा गरेर आएका व्यक्तिहरु र निम्न आय भएकाहरुलाई गाई, बाख्रा वितरण गर्नुका साथै सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
उहाँका अनुसार कमाउने मान्छे जेल परेपछि घर व्यवहार लथालिङ्ग थियो । आयआर्जनमा जोड्न पनि केही न केही सहयोग गर्नु थियो । नभए उनीहरु फेरि भौतारिएर गलत काममै लाग्न सक्थे । कोषको उद्देश्य सिमान्तकृत र कुलतमा परेका समुदायको उत्थानमार्फत नेपालको महत्वपूर्ण प्रजाति एक सिंगे गैँडाको दीगो संरक्षण गर्नु रहेको थियो ।
Darwin Initiative को IWT Challenge Fund ले सो कार्य गर्न सम्भव भएको उहाँले बताउनु भयो ।
पूर्वी चितवनको उत्तरमा पर्ने पहाडी गाँउ समिटार, कालिखोला, सैपाङ्ग र बाँसघारमा त्यस्ता घरपरिवार अत्याधिक भएको पाइएपछि त्यो ठाँउमा गर्न UK Government को Darwin Initiativeअन्तरगत IWT Challenge Fund को आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
गैँडा चोरी शिकारीमा लागेर जेल बसेका व्यक्तिका परिवार, सजाय पुरा गरेर आएका व्यक्तिहरु र निम्न आय भएकाहरुसँग बृहतरुपमा पटकपटक छलफल गरिएको थियो।
उनीहरुको माग अनुसार नै गाई, बाख्रा उपलव्ध गराउनुका साथै सीपमूलक तालिम र वन, वन्यजन्तुको संरक्षण गर्न संरक्षण शिक्षा प्रदान गरिएको हो ।
कोराकको समिटार, कालिखोला, चिप्लेटी र आसपासको क्षेत्रमा ४८ घरमा एउटा/एउटा गाई र सैपाङ्ग, बाँसघारीलगायतका क्षेत्रमा ११५ घरमा दुई/दुई वटाका दरले बाख्रा दिइएको छ । उहाँहरुले सन्तोषजनक रुपमा नै लाभ लिनु भएको छ ।
आयआर्जनको माध्यम यो रहेछ भन्ने उहाँहरुले ज्ञान पाउनु भएको छ । सबै कुराको सहजिकरण गर्न र उहाँहरुमा बचत गर्ने बानी बसाल्न कालिका बहुउद्देश्यीय सहकारी संस्था निर्माण गरी दीगो व्यवस्थापनका लागि अक्षयकोषको समेत व्यवस्था गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

विस्तारै उहाँहरुले बचत गर्न थाल्नु भएको छ । संरक्षण र जिवीकोपार्जन सँगसँगै लैजाने कोषको उद्देश्य अनुरुप चेपाङ्ग समुदायको दैनिकी बदल्न परियोजना विकास गरी सञ्चालनमा ल्याइएको छ, जसले सकारात्मक परिवर्तनहरु देखा परेका छन् ।
गाउँको बदनामी हट्यो
‘पहिला गाँउ चोरी शिकारीका कारण बद्नाम थियो। बाहिरका मानिसहरुले यहाँका मानिसले केही गर्दैन्, गैँडा मात्र मार्छन् भन्थे ।
अहिले यहाँको चहलपहल देखेर छक्क परेका छन् । राम्रो काममा लागेका छन् भनेर बाहिर पनि प्रशंसा नै भएको सुन्छु’, वीरबहादुरले सुनाए ।
गलत काम गरे पनि कुरा बुझेपछि सही बाटो अंगालेर परिवारको भरणपोषण इज्जतका साथ गर्न सकिने सन्देश कोराकले दिएको उनी दावी गर्छन् ।
लोभ, लालच, प्रलोभन र परिबन्धमा पारेर दुर्लभ वन्यजन्तु गैँडा चोरीशिकारको मुद्दामा वर्षौँ जेल सजाय भोगेर छुटेकाहरु अहिले मिहिनेत र पसिनाको कमाईमा रमाउँदै छन् ।
उनीहरु भन्छन्, ‘गलत बाटो समाएपछि कुनै न कुनै वेलामा सजाय भोग्नै पर्छ । पछि पछुताउनु भन्दा अहिले नै मिहिनेत, मजदुरी मै लागौँ ।’
यस कार्यबाट कोषमार्फत चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय रुपमा नै गैँडा संरक्षणमा टेवा पुगेको छ भने अन्तरराष्ट्रिय स्तरमा पनि नेपालको गैँडा संरक्षणमा रहेका चोरी शिकारको चुनौतीलाई रुपान्तरण गर्दै अघि बढेको भाव सम्प्रेषण भएको छ ।