काठमाडौँ : नेपालमा पुनः मौसम बदली भएको छ । गएरातीदेखि पश्चिमबाट शुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ ।
यो क्रम विहिबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहशाखाकी मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँले आज गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानहरुमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा शुरु भएको जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा बादल लाग्न थालिसकेको पनि उहाँले बताउनुभयो । विहिबार भने काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उहाँले जानकारी दिनुभयो । विस्तारै मौसम बदली पश्चिमबाटपूर्व सरिहेको छ ।
विभागका अनसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ।
आगामी २४ घण्टाका देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।
‘यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ।