काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचारमा मुछिएका छन् । पूर्वसचिव उपाध्याय सरकारकै गतिविधिविरुद्ध सामाजिक सञ्जालमा लेखेर चर्चा कमाएका व्यक्ति हुन् । उनीसहित १५ जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा उपाध्यायविरुद्ध चार करोड ११ लाख ३४ हजार २७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार तत्कालीन बोर्ड अध्यक्ष एवम् खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ रुपियाँ बराबरको जरिवाना एवम् बिगो रकम असुल गर्न मागदाबी गरिएको छ ।
त्यस्तै बोर्डका तत्कालीन अध्यक्ष तथा मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपियाँ, तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार ४५८ रुपियाँ र सदस्य चन्द्र बहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपियाँ भ्रष्टाचार गरेको भन्ँदै मुद्दा दायर गरिएको अख्तियारले प्रष्ट पारेको छ ।
त्यसैगरी समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपियाँ, राम चन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपियाँ, सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख ९८ हजार २८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा सजायको मागदाबी लिई उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको हो ।