काठमाडौँ : विहे गर्न कर गरेपछि काठमाडौँ महानगरपालिका ९ स्थित ‘सिरहा धनुषा होटल एण्ड लज’को कोठामा रामेछापकी प्रमिला दमाईको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमडौँले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दोलखा घर भई काठमाडौँ बस्ने कुमार श्रेष्ठसहित घटना विवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) भुपेन्द्र खत्रीले उनीहरुको विवाहपछिको सम्बन्धका कारण घटना भएको पाइएको बताउनुभयो । उहाँले दुबै जना विवाहित भएको र पछि प्रमिलाले विवाह गर्न दबाब दिएपछि उनले होटलको कोठामै हत्या गरेर भागेको अनुसन्धानमा खुलेको बताउनुभयो ।
शनिवार प्रमिलाको शव होटलको कोठामा फेला परेको थियो । सिसी टिभी हेर्दा एक पुरुषको साथमा आएको देखिए पनि उनी फरार रहेपछि प्रहरीले अनुसन्धान थालेको थियो । खोजतलासका क्रममा उनलाई काठमाडौँको बुद्धनगरबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुबीच विगत एक वर्षदेखि सम्बन्ध रहेको र आआफ्ना श्रीमान र श्रीमतीलाई छलेर बेलाबेलामा लिभिङ टुगेदरका रुपमा समेत बस्दै आएको पाइएको छ ।
उनीहरुबीचको सम्बन्धका कारण परिवारमै विवाद आएपछि एक पटक प्रहरीमा पुगेर घटना कागज गरेर समेत छाडिएको पाइएको छ ।
श्रीमान काठमाडौँ भएको समयमा केही अघि रामेछापस्थित प्रमिलाको घरमा माइतीपक्षको काकाको आवरणमा कुमार गएर एक हप्ता बसे आएको पाइएको समेत काठमाडौँ परिसरले जनाएको छ ।
पछि प्रमिलाले विवाहका लागि दवाव दिएको र उनले नमान्दा उत्पन्न विवादका कारण कुमारले प्रमिलाको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।