काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा २९औँ संस्करणको क्यान इन्फोटेक बिहिवारदेखि सुरु भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) को आयोजनामा सुरु भएको इन्फोटेक यही माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष लिइएको क्यान इन्फोटेकमा एक सय ५० भन्दा बढी स्टलहरु रहेकाछन् । मेलाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभयो। मन्त्री शर्माले सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सूचना प्रविधिको विकासबाट मात्रै समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले पूर्णता पाउने बताउनुभयो ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उहाँले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको पनि जानकारी दिनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले नीतिगत स्थिरताको अभावमा नेपालमा लगानीकर्ता आकर्षित गर्न नसकिएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधिसम्बन्धी सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाललाई ‘आइटी हब’ बनाइनुपर्नेमा जोड दिनुभयो ।
इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको जनाइएको छ ।
क्यान महासङ्घका अध्यक्ष रञ्जीतकुमार पोदारले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर रोजगारी सिर्जना गर्न थालिसकिएको बताउनुभयो । त्यसैले विदेशी मुद्रा भित्र्याउन सुरु भएको यो क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।