काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार बालकृष्ण समको १२२औँ जन्मजयन्तीको सन्दर्भ पारेर ‘सम्झनामा बालकृष्ण सम’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा दीप प्रज्जवलन गरी कार्यक्रम सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावकमात्र नभई बहुआयामिक व्यक्तित्व हो ।’
सम नाट्यसम्राट भए पनि उहाँको चित्रकारिता पनि उत्कृष्ट भएको उहाँले स्मरण गर्नुभयो । उहाँले शेक्सपियर शैलीलाई नेपालमा भित्र्याएर नाटकमा नयाँ आयाम थप्नुभएको स्मरण गर्दै कुलपति हार्तम्छालीले फोटो अनुसार जस्ताको तस्तै चित्र सिर्जना गर्न सक्ने क्षमता उहाँको थियो भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीनवटै प्रज्ञा–प्रतिष्ठानले अहिले नयाँ मानक स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै प्रतिष्ठान मिलेर गरेको यो पहिलो र उदाहरणीय कार्यक्रम हो ।’ राईले समलाई नाटककारका रूपमा बढी चिनिएको भएता पनि उहाँ साहित्य तथा चित्रकलाको क्षेत्रमा पनि अब्बल हुनुहुन्थ्यो भन्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठनाका कुलपति निशा शर्माले सम साहित्य र रङ्गमञ्चसँगै चित्रकलाको विधाका मूर्धन्य कलाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कलाकारहरूले उहाँका कृतिमाथि तयार गरेका चित्रहरू हेर्न आतुर छु ।’ उहाँले समका विभिन्न विधाका ६ वटा नाटकलाई विषय बनाएर कलाकारलाई चित्र सिर्जना गर्न दिइएको बताउनुभयो ।
शर्माले उहाँको नाटक गर्दा छुट्टै आनन्द आउने स्मरण गर्दै अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले समको चिसो चुल्हो नाटक गर्न आफूलाई रहर लागे पनि गर्न नसकिएको स्मरण गर्दै विभिन्न आयाममा लेखिएका मुख्य नाटकहरुलाई विषय बनाएर चित्र सिर्जना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
समालोचक डा. अशोक थापाले ‘समको गुणात्मक नाट्य योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उहाँको कार्यपत्रमाथि उपप्राध्यापक विष्णु ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।
डा थापाले नाटककार, निर्देशकदेखि कलाकार, लेखक, कवि, चित्रकार, जीवनी र कविता लेख्नसक्ने मात्रै नभएर सैनिक पेशादेखि कुशल प्राध्यापकसमेत हुनुभएको स्मरण गर्नुभयो । नेपालमा दुखान्त नाटक नभइरहेको सन्दर्भमा समले सेक्सपियर शैलीलाई भित्र्याएर नेपालमा नयाँ अभ्यासको थालनी गर्नुभएको डा थापाले बताउनुभयो ।
प्राज्ञ रमेश खनालको लेखन तथा निर्देशनमा बालकृष्ण समका चित्रकारिताका विषयमा तयार भएको वृत्तचित्र प्रदर्शन गरिएको कार्यक्रमममा सन्ध्या पहाडी, राधा कार्की, बाबा बस्नेत, विष्णु ज्ञवालीले समका कविताहरू वाचन गर्नुभएको थियो ।
समकै जयन्तीको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बालकृष्ण समको नाटक प्रह्लाद, प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, रमेश खनाल, कलाकार लिलाधर केसी र दीपेन्द्रमान बनेपालीले क्रमशः भीमसेनको अन्त्य, अन्धवेग, चिसो चुल्हो, प्रेमपिण्ड र स्वास्नीमान्छेलगायतमा आधारित रहेर कलाकृतिको निर्माणसमेत गर्नुभएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो ।
सम्झनामा बालकृष्ण सम (भिडियो)
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा भन्नुहुन्छ?