काठमाडौँ : नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा २ दिने ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ आजदेखि सुरु भएको छ ।
कार्यशालाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र जर्मन कलाकार हेल्गे एचेनबेचले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
समारोहमा कुलपति हार्तम्छालीले अहिलेको विश्व ग्लोबल भिलेजका रूपमा रहेको बताउँदै भन्नुभयो, “नेपाल र जर्मनीको दृष्टिकोणबाट यस्ता गतिविधिमा संलग्न हुँदा त्यसले दुई देशबीचमा आत्मीयता बढाई सकारात्मक सन्देश दिन्छ । आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक छ ।”
जर्मन कलाकार हेल्गेले नेपालमा पाहुना भएर आउन पाउँदा खुसी लागेको बताउँदै अरू जर्मन कलाकारलाई पनि नेपाल भ्रमण गर्न आग्रह गर्ने बताउनुभयो ।
“हामी नेपालका कलाकारलाई पनि जर्मनीमा स्वागत गर्न चाहन्छौँ । यस्ता कार्यक्रममार्फत नेपाली कलाको प्रचार–प्रसार हुने विश्वास मैले लिएको छु । म दुईदिने कार्यशालाबाट तयार हुने कृति हेर्न निकै उत्सुक छु”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले चित्रकला कार्यशालाले नेपाल र जर्मनीबीच कला र संस्कृति आदानप्रदान गर्न कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालामा नेपालबाट प्रतिष्ठानका कुलपति हार्तम्छाली, उपकुलपति, लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’सहित प्राज्ञपरिषद् सदस्य तथा प्राज्ञसभा सदस्यलगायत ३० जना कलाकारहरुको सहभागिता रहेको छ ।
यस्तै जमीनीबाट १० जना कलाकारहरुको सहभागिता रहेको छ । जर्मनीका कलाकारहरू ‘नेपाल आर्ट एक्सचेञ्ज’ कार्यक्रमको सिलसिलामा नेपाल आउनुभएको हो । कार्यशाला भोलि मङ्गलवार सम्पन्न हुने छ ।
त्यसपछि सिर्जित चित्रकलाको प्रदर्शनी गरिने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिनुभयो ।