काठमाडौँ । नेपालको विराटनगरमा घर भई हाल बेलायत बस्ने सुजन कटुवालले घरबारविहीन व्यक्तिहरुको सहयोगका लागि च्यारिटीको उद्देश्य बोकेर ३ हजार माइल पैदल यात्रा थाल्नुभएको छ ।
साउथ लन्डनस्थित पानस रेष्टुरेन्टका सञ्चालक तथा समाजसेवी कटुवाल यही माघ पहिलाे सातादेखि बेलायतस्थित नेपाली राजदूतावासबाट पैदल यात्रा शुरु गर्नुभएको हो ।
उहाँलाई नेपाली राजदुताबास बेलायतबाट यात्रा थालनी गर्नुभएको थियो । सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी वरिष्ठ अभिनेत्री जोअना लुम्लीले सफल यात्राको शुभकामनासहित विदाई गर्नुभएको थियो । उहाँको यात्रा अहिले जारी छ।

“सुजन कटुवालको गौरवपूर्ण नेपाली पृष्ठभूमि र उहाँ महत्वपूर्ण प्रतिबद्धताले लक्ष्य प्राप्त हुने विश्वास छ”, जोअनाले भनेको उहाँले सुनाउनुभयो ।
उहाँले उक्त अभियानका क्रममा नेपाली ४ करोड जति सहयोग जुटाएर घरबारविहीन भएका व्यक्ति तथा विभिन्न देशबाट आएर अलपत्र परेका व्यक्तिहरुलाई समेत सहयोग गर्ने योजना रहेको बताउनुभयो ।
अहिले नेपालबाट गएका नर्सहरुलाई समस्या परेको छ, उनीहरुका लागि पनि उठेको रकमको ५ प्रतिशत छुट्याउने घोषणा समेत गरेको उहाँले टेलिफोन कुराकानीमा सुनाउनुभयो ।

२६ वर्षदेखि बेलायत बस्दै आउनुभएका उहाँले यसअघि पनि यसैगरी तीन हजार माईल यात्रा गरेर साँढे २ लाखलाई खाना तथा कपडा सहयोग गरिसक्नुभएको छ । नेपाली ढाका टोली लगाएरै यात्रामा निस्कनुभएका उहाँको यात्रा आगामी अक्टोबर ३० सम्म झण्डै २०० दिनको रहने कुराकानीमा बताउनुभयो ।
बेलायतमा रहेको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’का लागि उहाँले यसपटक यात्रा थाल्नुभएको हो । कम्ब्याट स्ट्रेस संस्थाले ब्रिटिश सैनिक भेट्रानहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने गर्छ ।
उहाँले नेपाली टोपीसहित यात्रा गर्दा नेपालको पहिचान वेलायतमा फैलाउन सहयोग गर्ने र पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्ने अपेक्षा राख्नुभएको छ। उहाँले यसअघि गोर्खाँ च्यारिटिका लागि तीन हजार माइल हिँडेर यात्रा स्थापित गरिसक्नुभएको छ । उहाँ पानस हेल्पिङ हेण्ड्स च्यारिटी समेत सञ्चालन गर्नुहुन्छ ।

यसअघि कोभिड संक्रमणको समयमा बन्दाबन्दीका वेलामा पनि उहाँले सहयोग जुटाउनुभएको थियो । त्पसबेला एकलाख भन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना सहयोग गरिएको उहाँले सुनाउनुभयो । उहाँले सहयोग जुनसुकै देशका भए पनि घरबार विहिन व्यक्तिहरुका लागि गर्दै आउनुभएको छ । अहिले युक्रेनीहरुलाई सहयोग गरिरहुनभएको छ ।
‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड समेत प्राप्त गर्नुभएका कटुवालले समाजसेवाका कारण तत्कालिन बेलायती महारानी एलिजावेथ द्वितीयबाट प्रशंसापत्र समेत प्राप्त गर्नुभएको छ ।