सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फूड फेस्टिभल’को तयारी तीव्र पारिएको छ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहा चितवनको आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको बसपार्क रोडको आडैमा फुड फेस्टिभल हुँदैछ। यो ठउँ यसपालि नयाँ हो।
सौराहासहित चितवनको पर्यटन विकासका लागि प्रेम दिवसको अवसर पारेर फेस्टिभल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । खाना, संगीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाउने तयारी गरिएको उनले बताए ।
‘सौराहा फूड फेस्टिभलको आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिभल आयोजना गर्दै आइरहेका छौँ । सौराहासहित चितवनको पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको फूड फेस्टिभलले जिल्लाको समग्र पर्यटन विकासमा योगदान दिँदै आएको छ’, उनले भने ।

फेस्टिभलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने अध्यक्ष गिरीले बताए । विगतदेखि नै विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिभललाई निरन्तरता दिँदै आइरहेका भन्दै उनले देशमा भएको सशस्त्र द्घन्द, बन्द हडताल, भूकम्पको महामारी र अघोषित नाकाबन्दी जस्ता असहज परिस्थितिहरुमा यस क्षेत्रमा रहेका पर्यटन व्यवसायमा आबद्ध संघसंस्थाहरु तथा स्थानीय जनसमुदायको साथ र सहयोगले फेस्टिभलले अपेक्षाकृत सफलता हासिल गर्दैै आएको उनले बताए ।
कोराना महामारीपछि सौराहासहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् । चालु आवमा करिब एक लाख पचास हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको तथ्याङ्क छ ।
सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी फेस्टिभलका गतिविधिलाई अगाडि बढाइएको सौराहा फुड फेस्टिभलका संयोजक सूर्यबहादुर रिमालले बताए ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको उनले बताए।
उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले पनि रहेको उनले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने फेस्टिभलमा बहु जातजातिहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको सांगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने छ ।

दैनिक पाँच हजार बढी पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको उक्त फेस्टिभलमा ६० लाख खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष तथा झाँकी व्यवस्थापन संयोजक सुवासचन्द्र गौतमले जानकारी दिए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतोको सहभागितामा आज पत्रकार सम्मेलन आयोजना गरी फुड फेस्टिभलबारे जानकारी गराइएको थियो ।
रेवानका महासचिव एवं कलाकार व्यवस्थापन संयोजक नविन नेपालले यसपाली उत्कृष्ट र नाम चलेका कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिए ।
पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारी, पूर्व वडाध्यक्ष तथा रेवानका पूर्वअध्यक्षहरु बलराम दाहाल, राजन भट्ट, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीलगायत लगायतको सहभागिता रहेको थियो ।
सहयोग : कोमलचन्द्र भगत