काठमाडौँ । देशभर चिसो बढिरहेको छ । जसका कारण जनजीवन प्रभावित छ ।
काठमाडौँको न्युनतम तापक्रम आज तल झरेर २.१ डिग्रीमा आएको छ । यो न्युनतम तापक्रमउ वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँमा तापक्रम घटिरहेको र आज आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको बताउनुभयो ।
उहाँले आज तराईले भने केही राहत महसुस गरेको बताउनुभयो । उच्च बादल अर्थात पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उहाँले बाताउनुभयो ।
यो हाई क्लाउडले पानी भने नपार्ने उहाँले बताउनुभयो । “खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा १००० मिटरमाथि भिजिटलिटी छ”, अर्यालले भन्नुभयो, “जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ ।”
मौसमविद्का अनुसार भिजिवलिटी एक हजार भन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ ।
तराइमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ । कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ ।
हिजो भने तराईका अन्य क्षेत्रको भिजिबलिटी अली धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो । त्यहाँ ३०० मिटरसम्म झरेको पनि अर्यालले बताउनुभयो ।
उच्च पहाडी भेगमा केही मौसम बदली रहेकोको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ ।
विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरण अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केही स्थानहरुमा हुस्सु लागेको छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि दिउँसोको अबस्थामा पनि उस्तै रहने जनाइएको छ ।