काठमाडौं । हिजो शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरबाट एराइभलतिर जाँदै थिए ।
वाक थ्रू (एक्स–रे) गेट पास गरेर आएका उनलाई ड्यूटीमा खटिएका प्रहरी जवानले शरीर खानतलासी लिन खोजे, मेटल डिटेक्टरले जाँच्न खोजे ।
मोक्तानले आफू अध्यागमन अधिकृत भएको र ‘केही अघि मात्रै चेक भएको’ बताए । अनि आफ्नो सामान लिएर निस्किन खोजे ।
विमानस्थलका एसएसपी दिप शमशेर राणाका अनुसार, प्रहरीले जाँच्न खोजेपछि अध्यागमन अधिकृत मोक्तानले अपशब्द बोल्दै दुर्व्यवहार गरे ।
त्यसक्रममा अध्यागमन अधिकृत र प्रहरी जवानबीच भनाभन र धकेलाधकेल भयो । त्यहीबेला त्यहाँ खटिएका असई आइपुगे ।
उनले आफूमाथि कुटपिट भएको भन्दै मोक्तानले विमानस्थल अध्यागमन कार्यालयलाई जानकारी गराए । त्यसपछि प्रमुख अध्यागमन अधिकृत गोगन हमाल क्लोज सर्किट (सीसी) क्यामराको फुटेज हेर्न प्रहरी कहाँ पुगे ।
फुटेजमा असईले अध्यागमन अधिकृतलाई कुटेको देखेपछि हमालले भने, ‘प्रहरीले अत्ति नै गरेछ नि ?’
अध्यागमनका अधिकृतहरुका अनुसार त्यति भन्नासाथ प्रहरी जवान फेरि प्रतिवाद गर्दै हातपात गर्न अघि सरे । त्यसक्रममा हमाललाई पनि उनले लात्ता हानेको अध्यागमनका अधिकृतहरु बताउँछन् ।
प्रहरी चाहिँ ‘कर्मचारीहरुको हुल भएका बेला प्रहरीले एकोहोरो कुटेको भन्ने’ गलत भएको बताउँछन् ।
‘बर्दीमा भएको व्यक्ति अनुशासित हुनुपर्थ्यो, त्यहाँ गल्ती भयो । तर प्रहरीलाई पनि अपशब्द बोल्दै धकेलेपछि घटना भएको हो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् एक अधिकृतले भने, ‘हाम्रा सई सा’बको पनि गालामा चोट लागेको रहेछ ।’
एसएसपी राणा यो क्षेत्रमा खटिएको प्रहरीले जोकोहीलाई पनि खनतलासी गर्ने दाबी गर्छन् । अध्यागमनका अधिकृतहरु भने कर्मचारी देखेपछि प्रहरीले झन् दुःख दिने गरेको आरोप लगाउँछन् ।
गृह मन्त्रालयले भने शुक्रबारको घटनाबारे छानबिन गर्न सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको छ ।