काठमाडौँ । समुन्द्र सतहबाट २ हजार मिटरभन्दा माथि बस्ने हिउँ चितुवा १४६ मिटरमा झरेको पाइएपछि सबै छक्क परेका छन् । तल्लो क्षेत्रमा झरेर मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवालाई सदर चिडियाखाना जाउलाखेल ल्याइएको छ।
गत बुधवार चारघरेको बाँसको झ्याङमा चितुवा भेटियो। वयस्क भाले हिउँ चितुवालाई उद्धार गरी आज शुक्रवार जावलाखेलमा ल्याइएको छ।
शुक्रवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संस्थाले त्यसलाई सार्वजनिक गर्दै अबस्थाबारे पनि जानकारी गराएका थिए।
हिउँ चितुवा समुद्र सतहदेखि १४६ मिटरको मात्रै उचाइमा भेटियो। यो अन्य चितुवाभन्दा फरक हो। तातो ठाउँमा बस्न सक्दैन।
हिउँ चितुवा विश्वमा समुद्र सतहबाट ५०० मिटरदेखि ५ हजार ८०० मिटरको उचाईमा र नेपालमा २००० मिटरदेखि ६००० मिटरसम्मको उचाईमा पाइने गरिएको थियो तर यती तल्लो सतह ( १४६ मिटर) मा हिउँ चितुवा कसरी आइपुग्यो? भन्नेमा वन्यजन्तु विज्ञहरु नै छक्क परेका छन्।
वन्यजन्तु विज्ञ करण शाह तस्करी गर्ने उद्देश्यले ल्याएको हुनसक्ने अनुमान गर्छन्। उनी अहिले भेटिएको स्थानमा अन्य कुनै कारणबिना हिउँ चितुवा भेटिनु अस्वभाविक भएको दावी गर्छन् । यो अनुसन्धानको विषय भएको वन्यजन्तु विज्ञहरू बताउँछन्।
हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज छ। त्यसैले चिडियाखानामा राखेर उपचार थालिएको छ। पछि स्वस्थ भएको खण्डमा प्राकृतिक बासस्थानमा पठाउने तयारी निकुञ्ज विभागको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुङ्गाना पनि उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनुमा छक्क मान्छन्। उनी यो घटनालाई अस्वभाविक भएको दावी गर्छन्। उनले पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले उर्लाबारीमा भेटिएको चितुवालाई सानैदेखि मानिसहरुले संरक्षण गरेर राखेको र पछि आक्रामक भएर छाडेको हुनसक्ने आशंका पनि गरेका छन्। विज्ञहरूका धेरै अड्कलबाजी छन् तर यसै भएको हो भनेर कसैले भन्न सकेका छैनन्।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले हिमालमा बस्ने हिउँ चितुवा गर्मीस्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो इन्डिकेटर भएको दावी गरे।
उनले हिउँ चितुवा तराईमा भेटिनुले जलवायु परिवर्तनमा आएको असरलाई संकेत गर्ने पनि बताए।
उनले बासस्थानको हिसाबमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बनाइनुपर्ने पनि बताए। उनले मन्त्रालयले विज्ञसहितको अध्ययन कार्यदल बनाएर अध्ययन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
माघ ९ गते उर्लाबारीमा देखिएको हिउँ चितुवा कञ्चनजङ्घादेखि पश्चिम अपि नम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाईन्छ। नेपाललगायत मध्ये तथा दक्षिण एसियाका १२ देशहरुमा पाईने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य श्रृंखलाको उच्च तहमा रहेको प्रजाति हो।
हिमाली क्षेत्रको १२ वटा संरक्षित क्षेत्रहरु तथा आसपासका क्षेत्रहरुमा करिब १२ हजार ८१५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित वासस्थान रहेको छ।
यसको संख्याको वितरणको आधारमा पूर्व कञ्चनजङ्घादेखि पश्चिम अपि नम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको वासस्थानलाई पश्चिमी भूपरिधि मध्ये भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ।
विश्वमा यसको अनुमानित संख्या ३ हजार ९२१ देखि ६ हजार २९० रहेको छ। नेपालमा ३०१ देखि ४०० संख्यासम्म रहेको अनुमान गरिएको छ र यसको घनत्व १.५ देखि ३.२/१०० वर्ग किमि पाईएको जनाइएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्छ।