काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरे पनि आजको मितिसम्म खासै वर्षा हुन सकेको छैन ।
यो हिउँदमा यही माघ ४ गतेसम्मको प्राप्त विवरण अनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्यांकमा ४ं.५ प्रतिशत मात्रै वर्षा भएको छ । कुल २.५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताउनुभयो ।
“यो औषध भन्दा निक्कै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन”, पोखरेलले भन्नुभयो,“ हिउँदो समय अझै बाँकी भएकाले अझै पानी पर्ने सम्भावना भने कायम रहन्छ।
उहाँका अनुसार यो जनवरीमा पनि वर्षा हुने देखिएको छैन । विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो ।
यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत वर्षा मानिएको छ । सूचना अधिकारी पोखरेल अहिलेसम्म वर्षा कम भयो भनेर यो सिजनभरीकै विष्लेषण गर्ने बेला भने नभएको बताउनुहुन्छ ।
यसपाली नेपालमा मात्रै होइन भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै पोखरेलले जलवायु परिवर्तनको असरलगायतका कारण प्रभाव परिरहेको दावी गर्नुभयो ।
मुख्य त पश्चिमी वायुको प्रभावले नै वर्षा गराउने हो । अहिलेसम्म सक्रियरुपमा आएर देखिनु पर्ने हो तर देखिएको छैन । पछिल्लो हप्ता चिसो भने बढेको उहाँले बताउनुभयो ।
यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ । यो सिजनमा मात्रै होइन वर्षातका बेलामा पनि घटबढ देखिएको उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आउँदो २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाइएको छ ।
त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।