काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव संकलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको मोडालिटी तयार पारिने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थलगत अध्ययन र सुझावका आधारमा पुननिर्माण कार्य अघि बढाइने र त्यसकाल लागि अहिले स्थलगत अनुगमन तथा सुझाव सङ्कलन थालिएको बताउनुभयो ।
उहाँकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले आजदेखि अनुगमन तथा अध्ययन गर्न लागेको हो । टोली कर्णाली प्रदेश पुगिसकेको छ । टोलीले भोलि रुकुम पश्चिम र पर्सी आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने उहाँले बताउनुभयो ।
“अहिले भूकम्पका लाभग्राहीहरुको अस्थायी आवास निर्माणको काम जारी छ, आवास निर्माण कुन गतिमा भइरहेको छ, के समस्या आइपर्यो र समाधान कसरी गर्न सकिन्छ भन्ने पहिलो विषय अध्ययनको रहेको छ”, कार्यकारी प्रमुख पोखरेलले भन्नुभयो, “त्यसपछि दोस्रो चरणमा हुने पुननिर्माण कार्यलाई कुन मोडालिटीबाट कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि सुझावहरु संकलन गरिने छ।”
उहाँले दुबै जिल्लाका प्रभावित क्षेत्र पुगेर अन्तरक्रिया गरिसकेपछि अर्काे दिन सुर्खेतमा आएर प्रदेशस्तरीय छलफल गरी एउटा निचोडमा पुगिने पनि बताउनुभयो ।
टोलीले पश्चिम क्षेत्रकै मुख्य नाका नेपालगञ्ज भएकाले विपद आइपर्दा बाँकेले खेल्नुपर्ने भूमिका तथा आवश्यक विपद व्यवस्थापन, सामग्री भण्डारणलगायतको तयारीका विषयमा पनि छलफल गरिने जानकारी दिनुभयो ।
अनुगमन तथा सुझाव संकलन टोलीमा सहभागि प्राधिकरणका निजी आवास तथा पुननिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले मुख्यगरी फिल्डमा कस्ता कामहरु भइरहेका छन् र गुनासाहरु के छन् भनेर जानकारी लिनका लागि टोली खटिएको बताउनुभयो ।
उहाँले अबको पुननिर्माणलाई कसरी अघि बढाउने भन्ने कुरा अहिलेको अनुगमन र सुझाव सङ्कलनपछि निर्धारण हुने पनि जानकारी दिनुभयो ।
प्राधिकरणबाट प्राप्त विवरण अनुसार अहिलेसम्म जाजरकोट भूकम्पका लाभग्राहीहरु ७९ हजार नाघेका छन् । अहिलेसम्म २४ हजार अस्थायी आवास निर्माण सम्पन्न भइसकेको छ । ५० हजार परिवारसँग अनुदान सम्झौता भइसकेको र १० हजार घर निर्माणाधीन रहेको छ ।