काठमाडौँ । ब्रुनाई भएका बेला (२०४७ चैत्र ३ गते) आफ्नो श्रीमानलाई भेटाइदिने भनी झुक्यानमा पारेर महिलालाई भारतमा लगेर बेचेको आरोप लगोका एक व्यक्तिलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।
उक्त कसुर लागी फरार प्रतिवादी धादिङका ५७ वर्षीय वीरबहादुर तामाङलाई बुधबार ललितपुरबाट पक्राउ गरी आज अदालतमा पेश गरिएको थियो । उनीमाथि अनुसन्धानका लागि अदालतबाट ३ दिनको म्याद थप भएको प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
पीडितका श्रीमान ब्रुनाईमा रोजगारीमा रहेका बेला हाल पक्राउ परेका प्रतिवादीले तिम्रो श्रीमानले ब्रुनार्ई ल्याइदिनु भनी मलाई चिठ्ठी पठाएका छन् भनी झुक्यानमा पारेर काठमाडौँबाट महिलालाई लगेका अनुसन्धानमा खुलेको पंगेनीले बताउनुभयो ।
उनले काठमाडौँबाट काँकडभिट्टा हुँदै पश्चिम बङ्गालमा पुर्याएर भारतीय नागरिकलाई बेचेका पाइएको प्रहरीले जनाएको छ । त्यहाँ महिलालाई अपरिचित व्यक्तिको घरमा दुई जना व्यक्तिसँग कुराकानी गरी भोलि आउँछु भनेर ती छाडेर गएका थिए । सो क्रममा उनले ती भारतीय नागरिकबाट १० हजार भारु लिएको पनि खुलेको छ ।
भारतीय नागरिकहरुले महिलालाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हामफाली नजिकै रहेको भारतीय प्रहरीको सम्पर्कमा पुगेपछि भारतीय प्रहरीको सहयोगमा काँकभिट्टा आएकी थिइन् ।
त्यपछि उनले प्रहरीमा दिएको जाहेरीका आधारमा लुकीछिपी बसिरहेका बेला तामाङलाई ललितपुर महानगरपालिका १४ तिखेदेवलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
महिलाले दिएको जाहेरीका आधारमा घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजतलास तथा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।