काठमाडौँ : गत कात्तिक १७ गते गएको ‘जाजरकोट भूकम्प’बाट क्षति पुगेका ६७ हजार ७८० घर मध्ये आजसम्म २० हजार १४७ वटा अस्थायी घर निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म ४७ हजार ६५५ लाभग्राहीसँग सम्झौता भई अनुदान रकम निकासा गरिएकामा २० हजार १४७ घर निर्माण सम्पन्न भएको हो ।
अहिले १० हजार ३०५ घर निर्माणाधीन अबस्थामा रहेकाले त्यो निर्माण सम्पन्न भएपछि केही प्रगति देखिने प्राधिकरणका प्रमुख कर्याकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
उहाँले घर निर्माण कार्यमा केही ढिलाई भएको स्वीकार गर्दै पछिल्लो समयमा गति लिएको बताउनुभयो । केन्द्रबाट समयमै रकम निकासा गरिए पनि स्थानीय तहबाट जनशक्तिलगायत विविध समस्याका कारण प्रभावकारी वितरण हुन नसकेको बताउनुभयो ।
त्यसका लागि प्राधिकरणले केन्द्र सरकार र प्रदेश तथा स्थानीयतहसँग समन्वयको काम गरिरहेको र छिटो निर्माण सक्न अनुगमन टोली समेत परिचालन गरिएको बताउनुभयो ।
प्राधिकरणका अनुसार भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि अहिलेसम्म २ अर्ब २६ करोड निकासा भइसकेको छ । त्यो रकम जिल्ला विपद व्यवस्थापन समितिको खातामा पुगिसकेको छ ।
जिल्लाबाट स्थानीय तहमा १ अर्ब ६१ करोड रकम पुगिसकेमा स्थानीय तहबाट लाभग्राहीको खातामा भने एक अर्ब ४ करोड मात्रै पुगेको छ ।
लाभग्राहीहरु ८० हजार पुग्ने अनुमान रहेकाले ४ अर्ब ७५ करोड अनुमानित बजेट लाग्ने हुँदा सरकारसँग बजेट निकासाका लागि पहल भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले बताउनुभयो ।
प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले यसपटकको भूकम्पमा प्राधिकरणले रेष्पोन्सदेखि बजेट निकासका कामलाई चुस्त गतिमा अघि बढाएको बताउनुभयो । केही सुधार गर्नुपर्ने कुराहरु देखि नीतिगत सुधारमा प्रधिकरण लागिसकेको पनि उहाँले बताउनुभयो ।
भिडियो हेनर्न तल क्लीक गर्नुहोला :
https://www.facebook.com/samriddhisanchar/videos/1107314030696630