चितवन । कुमाल समुदायले आज पहिलो पटक आफ्नो पहिचान प्रदर्शन गरेका छन् । राज्यलाई कुमालको पनि संस्कृति छ है भनेर उसले देखाइदिएको छ । उक्त कार्यक्रम भने चितवनको गोलाघाटमा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र संस्कृतिमन्त्री सुदन किराती जाने कुरा भएपनि अन्तत उहाँहरु जानुभएन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उक्त उत्सवको उद्घाटन गर्नुभयो ।
आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् ।
कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुहुँदै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहायोग गर्ने बताउनुभयो । यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन गरिएको छ ।
आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर (विशाल) कुमालले जानकारी दिनुभयो ।
कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सक्राति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर (विशाल) कुमालले जानकारी दिनुभयो ।
राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उहाँले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।
मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सङ्क्राति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो ।
पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको उहाँले बताउनुभयो ।
चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उहाँले बताउनुभयो ।
कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिबकरिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवद्र्धनका लागि पनि यो मेला विशेष हुने उहाँ बताउनुहुन्छ ।
कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको पाइएको छैन ।
नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे सङ्क्रान्ति दसैँ, तिहारभन्दा ठूलो पर्व भएको जनाएको छ ।
यस पर्वका बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् ।
पछिल्लो जनगणना अनुसार एक लाख २९ हजार सात सय दुई रहेका छन् । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै छ हजार कुमाल समुदायका मानिस सहभागी भएका छन् ।
आज कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाएपछि घरमा आइ पितृको नाममा पानी चढाए । त्यस्तै कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइएको कुमाल समाज नेपालले जनाएको छ ।
आज माघे सङ्क्रान्तिको दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पुजिएको छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जस्ता मिठामिठा परिकार तथा प्राकृतिक फल खान दिइएको छ ।