काठमाडौँ । चितवनको सुन्दर पर्यटकीय नगरी गोलाघाटमा नेपालको इतिहास मै पहिलो पटक कुमाल समुदायले आयोजना गर्न लागेको राष्ट्रिय पर्व माघे सक्राति (माघे महोत्सव) को तयारी अन्तिममा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र संस्कृतिमन्त्री सुदन किरातीको समेत सहभागिता हुने उक्त माघे सक्राति पर्वमा देशभरका कुमाल समुयादहरु उपस्थित हुँदैछन् ।

कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमाल (विशाल)ले कुमालको मौलिक र महत्वपूर्ण पर्वलाई स्थापित गर्न यसपाली पहिलो पटक माघे सक्राति महाउत्सव गर्न लागिएको बताउनुभयो ।
उक्त कार्यक्रममा ७० जिल्लाबाट ६००० हजार कुमाल समुदायका प्रतिनिधि सहभागि हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, भेषभूषा, नृत्य र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलो पटक उक्त कार्यक्रम गर्न लागेको हो ।
आफ्नो मौलिक घर, पाहुनाको स्वागत सत्कारका चाल चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताउनुभयो।
माघे सक्राति कुमालको दसैँ, तिहारभन्दा पनि ठूलो पर्व हो तर राजपत्रमा सम्बोधन हुन नसकेकाले त्यसका लागि दवाव दिनु पनि कार्यक्रमको उद्देश्य रहेको छ ।
यस पर्वमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ। सक्रातिको बिहानै घरको मूली खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ ।

छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने गरिन्छ । कुखुरा सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल र कन्दमुल तरुल, पिँडालु, सखरखण्डा लगायतका खानेकुरा खाएर पव मनाइन्छ। माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलनछ ।
भुमी पुत्र कुमाल समुदायले माघे संक्रान्ति पर्वलाई दास प्रथाको अन्त्य भएको दिनको रुपमा समेत मनाउने गरेको अध्यक्ष कुमालले बताउनुभयो ।
माघे संक्रान्तिको रातमा एक ठाउँमा जम्मा भई रोधी बस्ने र त्यही रात नै मन मिलेका जोडीहरु भागेर विवाह गर्ने प्रचलन समेत कुमाल समुदायमा रहेको छ ।
यसअघि