चितवन । चितवनको रत्ननगरस्थित टिकौलीचौरमा आजबाट रत्ननगर महोत्सव सुरु भएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशको चार वटा महत्वपूर्ण महोत्सव मध्ये रत्ननगर महोत्सव पनि पर्ने बताउँदै महोत्सवबाट चितवनको आर्थिक क्षेत्र चलायमान हुँदै जाने प्रतिक्रिया दिनुभयो ।
संरक्षणलाई पर्यटनसंग जोडेर आर्थिक विकासका गतिविधि बढाउनुपर्नेमा जोड दिँदै उहाँले चितवनमा रेलमार्गको सम्भावना रहेकाले वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन अघि बिहान टाँडी चौरबाट विभिन्न संघसंस्थाको सहभागितामा हात्तीसहितको शोभायात्रा निकालिएको थियो । यस महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ ।
माघ ८ गतेसम्म चल्ने महोत्सवमा ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीनलाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोड कारोबार हुने अपेक्षा गरिएको संयोजक शंकर गिरीले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठले बोल्नु भएको थियो ।
यस्तै रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाललगायतले पनि मन्तव्य राख्नुभएको थियो।