विशाल कुमाल,
काठमाडौँ : प्रकृति पूजक कुमाल जातिले मनाउने राष्ट्रिय पर्व ‘माघे सक्राति’को छुट्टै विशेषता र प्राकृतिक महत्व रहेको छ ।
खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रूपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने गर्दछन् ।
कुमाल जातिमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व ठूलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ।
माघे सक्रातिको दिन घर–घरमा कुखुरा, सुँगुर काट्ने चलन छ । माघे सक्रातिलाई कुमाल समुदायले कुलायन देवतालाई सम्झेर पितृ पुज्ने, छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने प्रचलन छ।
सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ।
सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल, कन्दमुल तरुल, पिँडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ।
माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलन पनि रहेको छ । कुमाल समुदायले माघे सक्रातिलार्इ नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन् । (लेखक कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)